काठमाडौं । अष्ट्रेलिय विश्वव्यापी खानामा नेपालको पहिलो खाद्य शब्दकोशका रूपमा परिचित शिव न्यौपानेले यसपटक नेपाली मूलका चर्चित पाक विशेषज्ञ विक्रम वैद्य को प्रेरणादायी पाक यात्रा प्रस्तुत गरेका छन्।
हाल अमेरिकाको पोर्टल्याण्डमा बसोबास गर्दै आएका वैद्य पाक कला, शिक्षा, अनुसन्धान, लेखन, उद्यमशीलता र साहसिक मार्गदर्शन क्षेत्रमा बहुआयामिक योगदान दिइरहेका छन्। उनी नेपालका ऐतिहासिक मल्ल राजवंशदेखि राजपरिवारलाई आयुर्वेदिक सेवा प्रदान गर्ने प्रतिष्ठित ‘राज वैद्य’ परिवारमा जन्मिएका हुन्।
पारिवारिक परम्पराअनुसार आयुर्वेदिक चिकित्सक बन्ने सम्भावना हुँदाहुँदै वैद्यले पर्यटन र आतिथ्य क्षेत्रलाई आफ्नो करियरको आधार बनाए। सन् १९८९ मा उनले आफ्ना साथी पुष्करसँग मिलेर काठमाडौंमा चर्चित ‘टम एण्ड जेरी पब’ स्थापना गरेका थिए, जुन अन्तर्राष्ट्रिय पर्वतारोही, बाह्य साहसिक गतिविधिमा रुचि राख्नेहरू तथा प्रवासी समुदायका लागि लोकप्रिय केन्द्र बनेको थियो।
पछि उनले अमेरिकाकोपश्चिमी पाककला संस्थान / ले कर्डन ब्लुमा औपचारिक पाक शिक्षा हासिल गरे। अध्ययनपछि उनले सान फ्रान्सिस्कोस्थित फारालनमा चर्चित शेफ मार्क फ्रान्ज तथा नेभाडाको रेनोस्थित बिस्ट्रो रोक्सीमा शेफ ट्रोय क्याननसँग व्यावसायिक प्रशिक्षण लिए।
उनको करियर फाइन डाइनिङ र लक्जरी होटलहरूमा सीमित रहेन। विश्वका विभिन्न मुलुकमा भ्रमण गर्दै उनले अन्तर्राष्ट्रिय संस्कृति र जातीय परिकारको गहिरो अध्ययन गरे।
वैद्यको शिक्षण यात्रा नेपालबाट सुरु भएको थियो, जहाँ उनले नेपाली महिलाहरूलाई पश्चिमी खाना बनाउने कला सिकाएका थिए। त्यसपछि उनले ले कर्डन ब्लुमा अन्तर्राष्ट्रिय पाककला अध्यापन गरे भने ओरेगन पाककला संस्थानका संस्थापक सदस्य तथा प्रमुख प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले। उनी ACF प्रो शेफ्स ओरेगन को बोर्ड सदस्यसमेत रहेका थिए।
आफ्नो पारिवारिक आयुर्वेदिक सिद्धान्त ‘औषधिका रूपमा खाना’ लाई आत्मसात गर्दै वैद्यले खाना र मसलासम्बन्धी शैक्षिक कक्षा तथा व्याख्यान सञ्चालन गर्दै आएका छन्। उनी नेपालको प्रामाणिक नेवा रेस्टुरेन्टसा सा ट्वाका सल्लाहकारसमेत हुन्।
नेपाली खाद्य सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय वैद्यका लेखहरू ‘द ओरेगोनियन’, ‘मिक्स म्यागजिन’ लगायतका अन्तर्राष्ट्रिय प्रकाशनमा प्रकाशित भएका छन् भने उनी स्थानीय टेलिभिजन कार्यक्रमहरूमा पनि नियमित रूपमा देखिने गरेका छन्।
नेपाली खानालाई विश्वमञ्चमा चिनाउन र परम्परागत स्वादलाई आधुनिक पाककलासँग जोड्न विक्रम वैद्यले पुर्याएको योगदान नेपाली समुदायका लागि प्रेरणादायी मानिन्छ।




.gif)





