images

२०८३ आश्विन १८ गते

images
images
images

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • दाङ, २९ वैशाख । तुलसीपुर उपमहानगरपालिका–१५  अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । 

    images
    images

    अकमीगाउँ सहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।

    तुलसीपुर–१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थाल्नुभएको लामो समय बितिसकेको छ । उनले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएका छन् । 

    images
    images

    उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिएका छन् । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्नुहुन्छ । 

    यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु दुई लाख ५० आम्दानी भएको स्यानीले बताएका छन् । उनले भने, “अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।”

    विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाएका छन् । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गरेका छन् । भने १० कट्ठा जमिनमा तरकारीखेती गरेका छन् । 

    एक वर्षमा दुईपटक मौसमी र बेमौसमी तरकारीखेती गर्दैै आएको बताउने उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्दै आएको जानकारी दिएका छन् । उनका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु एकसय २० सम्म बिक्री हुन्छ । 
      
    तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताएका छन् । हाल १० कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उनले उल्लेख गएका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताएका छन् ।

    तुलसीपुर–१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेका छन् ।  उनले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताएका छन् । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उहाँले जानकारी दिएका छन् ।

    रेखाले भनिन, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु चार लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिएका छन् ।

    तुलसीपुर–१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेका छन् ।  उनले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बनेका छन् । तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताएका छन् ।

    सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्य रहेको भन्दै  स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

    यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५०० बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेती मार्फत आत्मनिर्भर बन्दै गएका बताएका छन् । उनले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताएका छन् ।

    उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म समय छुट्याइएको बताएका छन् । सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उनको भनाइ छ ।

    “ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भनेका छन् ।

    यसैगरी, उनीहरूलाई दिसापिसाव गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिएका छन् । उपमहानगर क्षेत्रका  धेरै किसान तरकारीखेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ छ । विशेषगरी तरकारीखेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend