काठमाडौँ, २१ वैशाख । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरका ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन चाहनेहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।




.gif)





