गुल्मी,१८ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो चार दिनमा ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि बिहीबारसम्म कुल ६ लाख ११ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको हो।
प्रशासनका अनुसार राहदानी सेवा मार्फत ६ लाख रुपैयाँ र राष्ट्रिय परिचयपत्रतर्फ ११ हजार ५०० रुपैयाँ राजस्व उठेको छ।
सोही अवधिमा संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण र नामसारीसम्बन्धी कुनै कार्य नभएको कार्यालयले जनाएको छ।
सेवाग्राहीतर्फ ३२० जनाले नयाँ नागरिकता लिएका छन् भने १४२ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन्। एक जनाले गैरआवासीय नागरिकता लिएका छन् भने नागरिकता त्याग गर्नेको संख्या शून्य रहेको छ।
त्यस्तै, २३ जनाको नाबालक परिचयपत्र तयार गरिएको छ। राहदानीतर्फ १२१ जनाबाट आवेदन सङ्कलन गरिएको र १५५ जनालाई राहदानी वितरण गरिएको छ।
राष्ट्रिय परिचयपत्रतर्फ ३८० जनाबाट आवेदन सङ्कलन तथा २४५ जनालाई वितरण गरिएको छ। साथै, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणितसम्बन्धी सेवा ३० जनालाई प्रदान गरिएको छ।
यस अवधिमा एक संस्थाको नवीकरण गरिएको कार्यालयले जनाएको छ। प्रशासनले हरेक हप्ता सम्पादन गरेका कामको विवरण सार्वजनिक गर्दै आएको छ।




.gif)





