images

२०८३ आश्विन १७ गते

images
images
images

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • गलकोट (बागलुङ), १७ वैशाख । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो । 

    images
    images

    उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिएका छन । 

     गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले करिब तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।

    images
    images

     नाचको बीचबीचमा हनुमानहरूलाई वीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले पूजाविधिका कारण हनुमानहरूलाई वीर चढ्ने (लाग्ने) गरेको बताइन्छ । 

     यसपटक पनि विगतमा जस्तै दुई–दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाको सहभागिता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाचसँगै १४ वटा टोल पूजा सम्पन्न गरिएका छ । 

     मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउँदै आएका छन् । कोरोना लगायत कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मूर्ति बागलुङ बजार परिक्रमा गरी पुनः प्रतिस्थापन गरिएको छ । 

     खर्चिलो नाचका रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र हाल नौ वर्षमा मनाउन थालिएकोे हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिएका छन । 

     उक्त नाच रामायण कथामा आधारित रहेको छ । भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास पाइन्छ । बीचमा हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको मलेपतीले बताएका छन । 

    नाच बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ । विसं २०८१ भदौ ११ गते नारायणचोकबाट नौ वर्षपछि सुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित शुभारम्भ र समापनसहित १९ स्थानमा देखाइएको छ । 

    हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङको पहिचान सँग हनुमान नाच जोडिएको बताएका छन ।  कार्यक्रममा हनुमान नाचमा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend