दुबई । अमेरिका र इरानबिचको युद्धविराम सोमबार सङ्कटमा परेको सङ्केत देखिएको छ । अमेरिकी सेनाले इरानी कार्गाे जहाज नियन्त्रणमा लिएपछि तेहरानले प्रतिशोधको चेतावनी दिँदै नयाँ शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेको छ । इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले अमेरिका ‘कूटनीतिक प्रक्रियामा गम्भीर नभएको’ आरोप लगाएका छन् ।इरानले आफ्ना मागहरू परिवर्तन नगर्ने र राष्ट्रिय हितका विषयमा कुनै समय सीमा वा दबाब स्वीकार नगर्ने उनले स्पष्ट पारे । अमेरिकाले भने दुई हप्ते युद्धविराम सकिनु अघि इस्लामवादमा नयाँ चरणको वार्ता सुरु गर्ने तयारी गरेको थियो । तर बघाईका अनुसार, अमेरिका ‘अव्यवहारिक र अवास्तविक अडान’ मा अडिग रहेकोले वार्ता अनिश्चित बनेको छ ।
इरानी उच्च स्रोतका अनुसार, अमेरिकी नाकाबन्दी जारी रहनुले वार्ताको सम्भावना कमजोर बनाएको छ । विशेषगरी इरानको मिसाइल कार्यक्रम जस्ता ‘रक्षात्मक क्षमता’ कुनै पनि वार्ताको विषय बन्न नसक्ने बताइएको छ ।यसबिच पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको छ । पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा वार्ताको मुख्य अवरोध नाकाबन्दी भएको बताएका थिए । ट्रम्पले उक्त सुझावमाथि विचार गर्ने बताएका छन् ।अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ भने इरानले स्ट्रेट अफ होर्मुजमा जहाज आवत जावतमा पटक–पटक अवरोध सिर्जना गरिरहेको छ । यो जलमार्गबाट विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने भएकाले यसको अवरोधले विश्व बजारमा ठूलो असर पारेको छ ।
यही घटनाक्रमका बीचमा सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढ्यो भने सेयर बजार अस्थिर बने । विश्लेषकहरूका अनुसार, युद्धविराम टुंगिने डरले व्यापारीहरू चिन्तित बनेका छन् ।
अमेरिकी कारबाही र इरानको प्रतिक्रिया
अमेरिकी सेनाले आइतबार इरानी झन्डा बोकेको जहाजमाथि गोली प्रहार गरेर त्यसको इन्जिन निष्क्रिय बनाएको थियो । त्यसपछि अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले सार्वजनिक गरेको भिडियोमा अमेरिकी नौसेनाहरू हेलिकोप्टरबाट जहाजमा झरेको देखिन्छ । इरानले भने उक्त जहाज चीनबाट आएको दाबी गर्दै अमेरिकामाथि ‘हतियारसहितको डकैती’ गरेको आरोप लगाएको छ ।इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी ‘खुला आक्रमण’ को सामना गर्न तयार रहेको बताए पनि जहाजमा चालक दलका परिवार भएकाले तत्काल प्रतिक्रिया दिन नसकिएको जनाएको छ । यस घटनाप्रति चीनले पनि चिन्ता व्यक्त गरेको छ र सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।
धम्की र प्रतिधम्की
इरानका उपराष्ट्रपति मोहम्मदरेजा आरेफले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यदि इरानको तेल निर्यात रोकिन्छ भने अरूका लागि पनि सुरक्षा सुनिश्चित हुँदैन,’ ।त्यसअघि ट्रम्पले आफ्ना सर्त नमान्ने हो भने इरानका पुल र विद्युत् संरचना ध्वस्त पार्ने धम्की दिएका थिए । जवाफमा इरानले आफ्नो पूर्वाधारमा आक्रमण भए खाडी क्षेत्रका अमेरिकी सहयोगी देशका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ ।




.gif)





