images

२०८३ आश्विन १९ गते

images
images
images

ठेक्का अवधि सकियो, भएन सडक कालोपत्र (बेनी–मालढुंगा)

ठेक्का अवधि सकियो, भएन सडक कालोपत्र (बेनी–मालढुंगा)

images
images
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि काम भने अधुरै छ। 

    images
    images

    पर्वतको कुस्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडकमा ६२ प्रतिशत मात्र काम भएको हो। १३ किलोमिटर सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ चैतमा ५२ करोड ८६ लाखमा जिम्मा लिएको थियो। आयोजना प्रमुख ध्रुवकुमार झाका अनुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएको छ। 

    सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन र यात्रुलाई आवतजावतमा समस्या भएको छ। यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको बेनीका प्रकाश पौडेलले बताए।  

    images
    images

    “बेनी–मालढुंगा सडकको दुरावस्थाका कारण म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यातायातका साधन सात किलोमिटर बढी घुमाउरो मालढुंगा–बागलुङ–बेनी सडक प्रयोग गर्न बाध्य छन्,” उनले भने, “समयमा सडक स्तरोन्नति नहुँदा महँगो ढुवानी र यातायात भाडादरको मारमा सर्वसाधारण परेका छन् ।” 

    सडक फराकिलो, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर दुरीमा कालोपत्रका लागि सब बेस बिछ्याएको छ। विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ। फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण सुस्त रहेको जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए। 

    म्याद सकिएपछि कार्यक्षेत्रमा आएका निर्माण कम्पनीका प्रतिनिधिले शुुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भएको छलफलमा निर्माणलाई गति दिने प्रतिबद्धता जनाएको प्रजिअ गुरुदत्त ढकालले बताए। विद्युत्‌का पोल सार्ने र घरटहराको क्षतिपूर्ति वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend