काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौँ महानगरपालिका–४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन्।
प्रहरीका अनुसार आङ मिङमारले लक्जम्बर्ग पठाइदिने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै सुनिताले बेलायत पठाइदिने भन्दै एक जनाबाट १६ लाख ७६ हजार रुपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिने भन्दै दुई जनाबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले आङ मिङमारलाई काठमाडौँ महानगरपालिका–२, सुनितालाई काठमाडौँ महानगरपालिका–२८ र बाल कुमारीलाई काठमाडौँ महानगरपालिका–४ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।




.gif)





