दाङ । कुनै समय बाढीले बगाएर उजाड बनाएको जमिन अहिले किसानका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ। लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी यतिखेर राप्ती नदीको बगरमा खरबुजा खेतीमा व्यस्त छिन्।
नदी कटानपछि बनेको बालुवामय बगरमा बेमौसमी तरकारी तथा खरबुजा खेती गर्दै उनले परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएकी छन्।
उक्त क्षेत्रमा बस्ने सीता चौधरीले पनि करिब दुई बिघा जमिनमा खरबुजा खेती गर्दै राम्रो आम्दानी लिन थालेको बताइन्। उनी भन्छिन्, “पहिला नदीले सबै जमिन बगाएर बिचल्ली बनायो, अहिले त्यही बगरले हाम्रो जीवन धानेको छ।”
सनकुमारी र सीता मात्रै होइनन्, बलरामपुर गाउँका करिब दुई सय किसान यतिबेला बगरमा खरबुजा तथा तरकारी खेतीमा सक्रिय छन्। मेहनत र धैर्यताले उनीहरूले बगरलाई उत्पादनशील जमिनमा रूपान्तरण गरेका छन्।
स्थानीयका अनुसार करिब २० वर्षअघि आएको भीषण बाढीले घर, पशुचौपाया र अन्नपात सबै बगाएको थियो। त्यसपछि वर्षौंसम्म जमिन बगरमै परिणत रह्यो। पछि सामूहिक पहल र एक संस्थाको सहयोगमा बीउ तथा मल प्राप्त भएपछि बगरखेती सुरु गरिएको थियो।
सुरुआती तीन वर्ष खासै आम्दानी नभए पनि अहिले छैटौँ वर्षमा आइपुग्दा उत्पादन र आम्दानी दुवै बढेको किसानहरू बताउँछन्।
बगर क्षेत्र सुनसान भएकाले चोरीको डरले किसानहरूले फुसका टहरा बनाएर खेतमै बस्ने गरेका छन्। चर्को गर्मीको सामना गर्दै पनि उनीहरू रातदिन खेतीमै खटिरहेका छन्।
आजको अवस्थामा, कुनै समय उजाड मानिएको बगर नै दाङका किसानहरूको जीवन बदल्ने आधार बनेको छ।




.gif)





