काठमाडौँ । इन्धन खपत घटाई वातावरण संरक्षण गर्न विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन्।
कैलाशकुट सामाजिक अभियानद्वारा हाँडीगाउँमा आयोजित ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्सा लगायत दैनिक जीवनमा विद्युतीय उपकरणको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
वातावरणविद् भुषण तुलाधरले घरभित्र हुने वायु प्रदूषण न्यूनीकरणका लागि ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्ने बताए। उनले प्लास्टिकजस्ता फोहर नजलाउन, प्रदूषण बढी हुने स्थानमा जाँदा मास्क प्रयोग गर्न तथा सचेत जीवनशैली अपनाउन आग्रह गरे।
त्यस्तै, वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले वातावरण, स्वास्थ्य र समाजबीचको सम्बन्धलाई समेटेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरिन्।
अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउँदा खर्च कम हुनुका साथै वायु प्रदूषण घटाउन सहयोग पुग्ने विषयमा समेत जानकारी गराइएको थियो।




.gif)





