नयाँ दिल्ली । भारतले सात वर्षपछि पहिलोपटक इरानसँग कच्चा तेल किनेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि भारतले यस्तो कदम चालेको हो । भारतीय तेल मन्त्रालयका अनुसार स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल आपूर्तिमा अवरोध आएपछि भारतीय रिफाइनरीहरूले इरानबाट समेत तेल सुनिश्चित गरेका छन् ।भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता देश हो । भारतले सन २०१९ मेपछि पहिलोपटक इरानबाट तेल ल्याएको हो । त्यसबेला अमेरिकाको दबाबका कारण भारतले इरानी कच्चा तेल आयात बन्द गरेको थियो । “पश्चिम एशियामा आपूर्ति अवरोध भइरहेका बेला भारतीय रिफाइनरीहरूले आफूलाई आवश्यक कच्चा तेल सुरक्षित गरेका छन्, जसमा इरान पनि समावेश छ । इरानी तेल आयातमा कुनै भुक्तानी समस्या छैन,” मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
गत महिना अमेरिकाले आपूर्ति अभाव कम गर्नका लागि इरानी तेल तथा प्रशोधित इन्धनमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको थियो । मन्त्रालयका अनुसार भारतले आगामी महिनाहरूका लागि आवश्यक कच्चा तेलको पूर्ण व्यवस्था गरिसकेको छ । भारतले ४० भन्दा बढी देशबाट तेल आयात गर्दै आएको छ । कम्पनीहरूलाई व्यापारिक आधारमा विभिन्न स्रोतबाट तेल किन्ने स्वतन्त्रता छ ।यसैबीच भारतले इरानबाट ४४ हजार मेट्रिक टन तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) पनि किनेको छ । उक्त ग्यास बोकेको जहाज बुधबार मैंगलोर बन्दरगाहमा पुगेको र हाल इन्धन उतार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।




.gif)



