काठमाडौँ । मिन आङ हलायाङ्लाई शुक्रबार म्यानमारको युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टी र सैन्य बाहुल संसद्को समर्थनमा राष्ट्रपति चयन भएका छन् । यस मतपत्रमार्फत हलायाङ्ले विपक्षी सेवानिवृत्त जनरल न्यो साउलाई पराजित गरेर राष्ट्रपति बनेका छन् । संसद्मा हलायाङ्को पक्षमा ४२९ मत र साउको पक्षमा १२६ मत खसेको थियो ।६९ वर्षीय सेना प्रमुखको सत्ता यात्रा २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सू कीको निर्वाचित सरकारलाई पल्टाएर उनीलाई पक्राउ गरेपछि सुरु भएको थियो ।
त्यसपछि देशभर व्यापक विरोध प्रदर्शन सुरु भयो, जुन सेनाको सरकारविरुद्धको सशस्त्र प्रतिरोधमा परिणत भएको थियो । यसले देशलाई पाँच वर्ष लामो गृहयुद्ध र राजनीतिक अस्थिरताको चपेटामा ल्याएको छ ।डिसेम्बर–जनवरीमा भएको विषम चुनावको परिणामपछि मिन आङ हलायाङको राष्ट्रपति पदमा आसीन भएका हुन् । उक्त चुनावमा सेना समर्थित पार्टीको विशाल विजय भएको थियो र पश्चिमी सरकारहरूले यसलाई लोकतन्त्रको आवरणमा सैन्य शासनलाई कायम राख्ने नक्कली चुनावको भन्दै आलोचना गरेका थिए ।शुक्रबारको मतदानमा, सेनाले नियुक्त गरेको सांसद र युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टीका सांसदहरू हलायाङलाई समर्थन गरेका थिए ।
यससँगै उनले सेना प्रमुखको रूपमा आफ्नो अधिकारलाई नागरिक राष्ट्रपति पदमा रूपान्तरण गरेका छन् । विश्लेषकहरूले यसलाई म्यानमारमा सत्ताको केन्द्रीकरण र लोकतान्त्रिक ढाँचामा ढाकछोप गरिएको सैन्य शासनको स्पष्ट उदाहरण भएको बताएका छन् । पाँच वर्षअघि सुरु भएको सैनिक कूपछि मुलुकले व्यापक अस्थिरता, आर्थिक सङ्कट, र हजारौँ नागरिकको विस्थापनको सामना गरिरहेको छ ।




.gif)





