हवाना । क्यारिबियन राष्ट्र क्युबाले २ हजारभन्दा धेरै कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । यो पछिल्ला वर्षहरूमा गरिएको सबैभन्दा ठुलो सामूहिक कैदी रिहाइमध्ये एक हो । बढ्दो आर्थिक सङ्कट र अमेरिकी दबाबबिच सरकारले यस्तो निर्णय गरेको मानिएको छ । सरकारी सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिएको निर्णयअनुसार कैदीहरूको राम्रो आचरण, स्वास्थ्य अवस्था र उनीहरूले गरेका अपराधको प्रकृतिका आधारमा माफी दिइएको हो । रिहा गरिनेमा युवा, महिला, ६० वर्षभन्दा माथिका व्यक्ति र विदेशीसमेत समावेश छन् । तर हत्या, यौन हिंसा वा गम्भीर अपराधमा दोषी ठहरिएका कैदीहरू यस सूचीमा समावेश गरिएको छैन ।
मानवअधिकार संस्था ह्यूमन राइट्स वाचका अनुसार क्युबामा सक्रिय कार्यकर्ता, पत्रकार र राजनीतिक विरोधीहरूलाई नियमित रूपमा नियन्त्रण र हिरासतमा राख्ने गरिएको छ । यसअघि सन् २०२५ मा संयुक्त राज्य अमेरिका र भ्याटिकनसँगको वार्तापछि क्युबाले ५५३ कैदी रिहा गरेको थियो ।त्यसबेला अमेरिकी प्रशासनले केही प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता जनाएको थियो । तर डोनाल्ड ट्रम्पले पुनः सत्ता सम्हालेपछि उक्त सहमति रद्द गरेका थिए, जसका कारण रिहाइ प्रक्रिया केही समय रोकिएको थियो ।सरकारले औपचारिक रूपमा यो निर्णयलाई इस्टरअघिको ‘पवित्र साता’ सँग जोडेको बताए पनि विश्लेषकहरूका अनुसार यसको पृष्ठभूमिमा बढ्दो अमेरिकी दबाब र ऊर्जा सङ्कट प्रमुख कारण हुन् । हाल डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले भेनेजुएलामार्फत हुने तेल आपूर्ति रोकेर तथा अन्य आर्थिक दबाब सिर्जना गरेर क्युबामाथि कडा नीति अपनाएको छ, जसले त्यहाँको अर्थतन्त्र झन् कमजोर बनाएको छ ।




.gif)



