काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी द्वन्द्व र त्यसबाट उत्पन्न पछिल्लो अवस्थाबारे जानकारी दिन राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। ह्वाइट हाउसका अनुसार उनले बुधबार राति सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
अमेरिका र इजरायल ले इरान विरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेको एक महिनाभन्दा बढी समय बितिसकेको अवस्थामा ट्रम्पले पहिलो पटक यस्तो औपचारिक सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको विस्तृत एजेन्डा सार्वजनिक नभए पनि यसको समय र सन्दर्भलाई निकै महत्वपूर्ण मानिएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानी नेतृत्वले युद्धविरामका लागि पहल गरेको दाबी गरेका छन्। उनका अनुसार इरान ले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलसन्धि स्वतन्त्र आवागमनका लागि खुला गरेमा मात्र अमेरिका युद्ध रोक्ने विषयमा विचार गर्न तयार हुनेछ।
ट्रम्पले उक्त जलसन्धि नखोले थप कडा सैन्य कदम चाल्ने चेतावनी दिँदै इरानलाई “ढुङ्गे युगमा फर्काउने” सम्मको अभिव्यक्ति दिएका छन्। यद्यपि, इरानको तर्फबाट औपचारिक रूपमा युद्धविराम प्रस्ताव आएको भन्ने दाबीको स्वतन्त्र पुष्टि भने हालसम्म हुन सकेको छैन।
यो सम्बोधन ट्रम्पका लागि राजनीतिक रूपमा संवेदनशील समयमा हुन लागेको छ। पछिल्ला सर्वेक्षणहरूअनुसार उनको अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखिएको छ। इरानमाथिको सैन्य कारबाहीप्रति अमेरिकी जनमत विभाजित रहेको छ भने धेरै नागरिकहरूले यसको विरोध गरिरहेका छन्।
विशेषगरी स्वतन्त्र मतदाताहरू युद्धको विपक्षमा उभिँदा ट्रम्पमाथि राजनीतिक दबाब बढ्दै गएको विश्लेषण गरिएको छ। यससँगै आर्थिक पक्षले पनि चुनौती थपेको छ। युद्धका कारण इन्धनको मूल्य उल्लेखनीय रूपमा बढेको छ, जसले उपभोक्ता विश्वासमा असर पारेको छ।
यता, ट्रम्पका अभिव्यक्तिहरूमा पनि स्पष्टता अभाव देखिएको छ। उनले एकातिर युद्ध केही हप्तामै अन्त्य हुन सक्ने बताएका छन् भने अर्कोतर्फ इरान को ऊर्जा पूर्वाधारमा थप आक्रमण र स्थल सेना परिचालन गर्ने चेतावनी पनि दिँदै आएका छन्।
यस किसिमको दोधार रणनीतिका कारण प्रशासनभित्रै दीर्घकालीन योजना स्पष्ट नभएको संकेत देखिएको छ। ट्रम्पको आगामी सम्बोधनले युद्धको दिशा र अमेरिकी रणनीतिबारे केही स्पष्टता दिने अपेक्षा गरिएको छ।




.gif)





