म्यानमार। म्यानमारमा मिन आङ ह्लाइङलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरिएको र सैन्य कमान्डरको जिम्मेवारीबाट प्रतिस्थापन गरिएको घटनाले उनलाई नागरिक राष्ट्रपतिको रूपमा सत्तामा निरन्तरता दिने स्पष्ट मार्ग खोलिएको छ । पाँच वर्षदेखि कठोर सैन्य शासन सञ्चालन गर्दै आएका उनले अब औपचारिक रूपमा नागरिक संरचना भित्रैबाट शासन अघि बढाउने तयारी गरेकाे देखिन्छ ।सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता सम्हालेका मिन आङ ह्लाइङले त्यसयता देशमा कडा नियन्त्रण कायम गरेका थिए । सो कदमपछि सुकीलाई हिरासतमा राखियो, उनको दल विघटन गरियो र देश गृहयुद्धतर्फ धकेलियो ।
हालै सम्पन्न अत्यन्त नियन्त्रणयुक्त निर्वाचनमार्फत सैन्य समर्थक शक्तिहरूलाई सहज जित दिलाइएको थियो । उक्त चुनावमा विरोध वा आलोचनालाई अपराध मानिएको थियो, जसका कारण प्रजातन्त्र पक्षधरहरूले यसलाई निष्पक्ष प्रक्रिया नभएको भन्दै आलोचना गर्दै आएका छन् ।राज्य सञ्चालित मिडियाअनुसार सांसद क्याव क्याव हतेले संसदमा मिन आङ ह्लाइङलाई उपराष्ट्रपति पदका लागि प्रस्ताव गरेका थिए । तीन उपराष्ट्रपतिमध्ये एकलाई संसद्ले राष्ट्रपतिमा चयन गर्ने व्यवस्था छ, जसले उनको राष्ट्रपतिको यात्रालाई थप सुनिश्चित बनाएको छ ।
यसैबिच, सेनाको नेतृत्वमा पनि परिवर्तन गरिएको छ । पूर्व जासुस ये विन ऊलाई नयाँ कमान्डर–इन–चिफको रूपमा नियुक्त गरिएको विभिन्न मिडियाले जनाएका छन् । नेपिडोमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको थियो ।म्यान्माको सेनाले सधैँ आफूलाई राष्ट्रको एकता जोगाउने प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि, सन् २०११ देखि सुरु भएको सीमित लोकतान्त्रिक अभ्यासले केही समयका लागि नागरिक नेतृत्वलाई स्थान दिएको थियो, जसले सुधारका प्रयासहरू अघि बढाएको थियो ।तर सन् २०२० को निर्वाचनमा सुकी नेतृत्वको दलले सैन्य समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीलाई पराजित गरेपछि सेनाले आफ्नो प्रभाव घट्ने चिन्तामा सत्ता पुनः आफ्नो नियन्त्रणमा लिएको विश्लेषकहरू बताउँछन् ।
अहिले सोही सैन्य समर्थित दलले संसद्मा करिब ८० प्रतिशत सिट जितेको छ, जसका कारण नयाँ सरकार सेनासँग नजिक रहेर काम गर्ने अनुमान गरिएको छ । यद्यपि, नागरिक भूमिकामा प्रवेश गर्दै गर्दा मिन आङ ह्लाइङले सैन्य नेतृत्व नयाँ कमान्डरलाई सुम्पिँदै सत्ता सन्तुलन कायम राख्ने चुनौतीपूर्ण चरण पार गर्नुपर्ने देखिन्छ ।




.gif)





