images

२०८३ आश्विन १८ गते

images
images
images

किसान चैतेधान रोप्नमा व्यस्त

किसान चैतेधान रोप्नमा व्यस्त

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • भोजपुर, १५ चैत । भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।

    images
    images

    जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिका लगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ । समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन् । हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ । यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उहाँको भनाइ छ ।

    कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिनुभयो । फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उहाँ बताउनुहुन्छ । आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । 

    images
    images

    “हामी यो समयमा चैते धान रोप्नमा व्यस्त छौँ”, उहाँले भन्नुभयो, “यतिबेला रोपेको धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुन्छ, त्यसपछि पुनः अर्को बाली लगाउँछौँ ।”

    यद्यपि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ । दुई नगरपालिका र सात गाउँपालिका  रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ ।
      
    परम्परा र संस्कृति बचाउन देवाली थान संरक्षणमा लगानी

    हतुवागढी गाउँपालिका–१ घोडेटारले स्थानीय संस्कार तथा संस्कृतिको संरक्षणमा सक्रिय पहल थालेको छ । पुस्तौँदेखि चल्दै आएको मौलिक परम्परालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित वडाले विभिन्न सांस्कृतिक धरोहरहरूको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको हो ।

    स्थानीयले मान्दै आएको परम्परागत संस्कृतिलाई पुनर्जीवन दिने लक्ष्यका साथ खप्तरी बस्नेत समुदायसँग सम्बन्धित ‘देवाली थान’को संरक्षण कार्य अघि बढाइएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उक्त थानको संरक्षणले स्थानीय पहिचान जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

    गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी रु चार लाख ५० हजारको लागतमा देवाली थान संरक्षण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो । “स्थानीय संस्कार–संस्कृतिको संरक्षणमा हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “विभिन्न जातजातिका परम्परा र पहिचानसँग जोडिएका यस्ता सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिएका छौँ ।”

    पछिल्लो समय आधुनिकता र तीव्र बसाइँसराइका कारण गाउँघरमा परम्परागत संस्कार हराउँदै जान थालेपछि यसको संरक्षणमा विशेष ध्यान दिइएको उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहको प्राथमिकतामा परेका पुराना संस्कृति, रीतिरिवाज तथा धार्मिकस्थलहरूको संरक्षणले परम्परा जोगाउन टेवा पुगेको स्थानीयवासी विनोद बस्नेतले बताउनुभयो ।

    “पहिले देवाली थानको संरक्षण नहुँदा विभिन्न समस्या थिए”, उहाँले भन्नुभयो, “अहिले स्थानीय सरकारको सहयोगमा घेराबारसहित संरक्षण भएपछि पूजा–आराधना गर्न सहज भएको छ । यसबाट करिब एक सय बस्नेत घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।”

    यस्ता प्रयासले नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानप्रति सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको विश्वास छ । गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार स्थानीय तहले विभिन्न जातजातिका धार्मिक तथा सांस्कृतिकस्थलको संरक्षण, पुनर्निर्माण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले संस्कृतिको दिगो संरक्षणसँगै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend