अर्थसमाचार संवाददाता शिव न्यौपाने अष्ट्रेलिया। झापाको शिवसताक्षी–६, शिवगञ्जमा जन्मिएका सुकराज खड्का आज अष्ट्रेलियामा नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। सन् २०१९ मा अष्ट्रेलिया पुगेका उनले सुरुआती दिनहरूमा संघर्षपूर्ण जीवन बिताए। सफाई गर्ने, भाँडा माझ्ने जस्ता कामबाट यात्रा सुरु गरेका उनले विस्तारै आफ्नो सीप र मेहनतका माध्यमबाट नयाँ पहिचान बनाएका हुन्।
हाल सुकराज मेलबर्नस्थित ‘पुरानो दरबार’ नेपाली रेस्टुरेन्टमा शेफको रूपमा कार्यरत छन्। भान्सामा उनको दक्षता र सिर्जनशीलता विशेष रूपमा प्रशंसित छ। पाककला मात्र होइन, उनले डिजिटल प्लेटफर्ममा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।
करिब दुई वर्षअघि उनले सामग्री (कन्टेन्ट) निर्माण सुरु गरेका थिए। विशेषगरी भान्सासँग सम्बन्धित आकर्षक भिडियोहरूले दर्शकको ध्यान तानेका छन्। उनका भिडियोहरूमा नेपाली स्वाद, प्रस्तुति र जीवनशैलीको झल्को पाइन्छ, जसले अष्ट्रेलियामा रहेका नेपाली समुदायमा लोकप्रियता बढाएको छ।
हालै सार्वजनिक भएको ‘भोट के मा घण्टी मा’ म्युजिक भिडियोमा उनको उपस्थितिले थप चर्चा बटुलेको छ। उक्त भिडियोमार्फत उनले मनोरञ्जन क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाएका छन्।
बहुआयामिक प्रतिभाका धनी सुकराज खड्का आज एक सफल शेफ, कन्टेन्ट क्रिएटर तथा उदीयमान कलाकारका रूपमा परिचित छन्। आफ्नो मेहनत, संघर्ष र निरन्तरताका कारण उनी अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व बनेका छन्।
विदेशी भूमिमा संघर्ष गर्दै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा सुकराजको यात्रा अहिले धेरैका लागि मार्गदर्शन बनेको छ।




.gif)





