मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर नेतृत्वको सरकारले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा “तत्काल खतरा” देखिएको भन्दै आपतकाल घोषणा गरिएको हो । मार्कोसले मंगलबार जारी गरेको कार्यकारी आदेशमा विश्व ऊर्जा बजारमा अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध र अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र उतार–चढाव तथा वृद्धि भएको उल्लेख गर्दै यसले देशको ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने बताएका छन् ।सरकारले आपतकालीन अवस्थालाई सामना गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ, जसले इन्धन, खाद्यान्न, औषधि, कृषि उत्पादन तथा अन्य अत्यावश्यक वस्तुको सहज आपूर्ति, वितरण र उपलब्धता सुनिश्चित गर्नेछ । ऊर्जा आपतकाल घोषणा एक वर्षसम्म लागू रहनेछ । यस अन्तर्गत आपूर्ति निरन्तर र पर्याप्त रहोस् भनेर सरकारले आवश्यक परे अग्रिम भुक्तानी गर्दै इन्धन तथा पेट्रोलियम पदार्थ खरिद गर्न सक्नेछ ।
ऊर्जामन्त्री शेरोन गारिनका अनुसार हालको खपतका आधारमा फिलिपिन्ससँग करिब ४५ दिन पुग्ने इन्धन मौज्दात रहेको छ । सरकारले दक्षिण–पूर्वी एसिया भित्र र बाहिरका देशहरूबाट १० लाख ब्यारेल तेल खरिद गरी भण्डारण बढाउने तयारी गरिरहेको पनि उनले जानकारी दिइन् । तर आगामी खरिद प्रक्रियामा अनिश्चितता रहने सम्भावना रहेको उनले चेतावनी दिइन् ।सरकारले आपतकाल घोषणामार्फत आवश्यक परे नियमित प्रक्रिया छिटो पार्दै निर्णय लिन सक्नेछ, जसले विश्व बजारमा देखिएको उतार–चढावको प्रभावलाई कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसैबिच राष्ट्रपति मार्कोसले अर्थ मन्त्रालयलाई केन्द्रीय बैंकसँग समन्वय गरी पश्चिम एसियामा द्वन्द्वको प्रभाव फिलिपिन्सको मुद्रा (पेसो), वैदेशिक आम्दानी (रेमिट्यान्स) र सम्भावित मुद्रा अवमूल्यनमाथि नजिकबाट निगरानी गर्न निर्देशन दिएका छन् ।




.gif)





