काठमाडौँ, ९ चैत । इरान द्वारा इजरायल माथि भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण त्यहाँ रहेका नेपालीहरूमा चिन्ता बढ्दै गएको छ। पछिल्ला दिनहरूमा आक्रमणको तीव्रता बढ्दै जाँदा सर्वसाधारणमा त्रास फैलिएको छ।
इजरायलमा बसोबास गर्दै आएका नेपालीहरूका अनुसार हालसम्म उनीहरू प्रत्यक्ष रूपमा प्रभावित नभए पनि बढ्दो आक्रमणका कारण अवस्था दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएको छ। विशेषगरी हिजोदेखि आक्रमण थप तीव्र बनेको उनीहरूको भनाइ छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य अलि महम्मद मियाँ का अनुसार विगतको तुलनामा पछिल्ला दिनहरूमा बढी मात्रामा मिसाइल आक्रमण भइरहेको छ। दक्षिणी शहर अराद, उत्तरी क्षेत्र दिमोना तथा राजधानी तेल अविव क्षेत्रमा लगातार आक्रमण भइरहेको उनले बताए।
आज बिहान मात्रै तेल अविव आसपासका रामत गान र पेटाह टिक्वा लगायतका स्थानमा मिसाइल खसेका छन्, जसबाट केही व्यक्ति घाइते भएको जनाइएको छ।
लगातारको आक्रमणका बाबजुद हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जानकारी नआएको मियाँले बताए। तर स्थिति झन् जटिल बन्दै गएको उनको भनाइ छ।
इजरायलमा अधिकांश घर तथा कार्यस्थलमा बंकर (सेल्टर) को व्यवस्था भए पनि सबै नेपालीले समान रूपमा यसको उपयोग गर्न नसकेको गुनासो छ। विशेषगरी वृद्ध तथा अशक्त व्यक्तिको हेरचाहमा खटिएका नेपाली केयरगिभरहरूलाई साइरन बजेपछि तुरुन्तै सुरक्षित स्थानमा पुग्न कठिन हुने गरेको बताइएको छ। रोजगारदातालाई छाडेर आफैं सुरक्षित हुन जान पनि धेरै अवस्थामा सम्भव नहुने भएकाले उनीहरू थप जोखिममा पर्ने गरेका छन्।
इजरायलमा साइरन बज्नु अघि करिब १० मिनेटअघि चेतावनी सन्देश आउने र त्यसपछि एक मिनेटभित्र नजिकको बंकरमा पुग्नुपर्ने व्यवस्था छ। तर व्यवहारमा सबैका लागि यो सहज नभएको अनुभव नेपालीहरूले साझा गरेका छन्।
लगातार बढ्दो आक्रमणका कारण सर्वसाधारण तथा नेपालीहरूमा त्रास फैलिएको छ। युद्ध लामो समयसम्म लम्बिए स्थिति अझ जटिल बन्न सक्ने देखिन्छ।
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले समस्यामा परेका नेपालीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। संघले सबैलाई उच्च सतर्कता अपनाउन र कुनै आपतकालीन अवस्था आएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।




.gif)





