वासिङ्टन डीसी । गृह सुरक्षा मन्त्रालयको कामकाज आंशिक रूप बन्द भएको अवस्था लम्बिँदै गरेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका विमानस्थलहरूमा आप्रवासन अधिकारी परिचालन गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबारदेखि अध्यागमन तथा भन्सार कार्यान्वयन (आईसीई)का एजेन्टहरूलाई विमानस्थलमा पठाउन तयार रहन निर्देशन दिइसकेको बताएका छन् ।यो चेतावनी पाँच हप्तादेखि जारी आंशिक सरकारी बन्दको सन्दर्भमा आएको हो, जसले गृह सुरक्षा मन्त्रालयअन्तर्गतका निकायहरूलाई प्रभावित पारेको छ । बजेटसम्बन्धी सहमति नहुँदा विशेषगरी परिवहन सुरक्षा प्रशासन (टीएसए)का हजारौँ कर्मचारीहरूले तलब नपाई काम गर्नुपरेको अवस्था छ, जसका कारण धेरै कर्मचारी बिरामी बिदा लिने वा जागिर छाड्ने अवस्थामा पुगेका छन् । यसले अमेरिकी विमानस्थलहरूमा लामो लाइन र ढिलाइको समस्या बढाएको छ ।
ट्रम्पले यस अवस्थाका लागि डेमोक्रेटहरूलाई दोष दिँदै छिट्टै सहमति नभए अध्यागनका एजेन्टहरूलाई विमानस्थल सुरक्षामा खटाइने बताएका छन् । ती एजेन्टहरूले अहिलेसम्म नदेखिएको सुरक्षा प्रदान गर्ने उनले भनेका छन् । गैरकानुनी रूपमा देशभित्र बसोबास गरिरहेका आप्रवासीहरूलाई तत्काल पक्राउ गर्न पनि उनले निर्देशन दिन सक्ने संकेत दिएका छन् । यसमा विशेषगरी सोमालियाबाट आएका व्यक्तिहरूलाई लक्षित गर्ने बताइएको छ ।तर यस प्रस्तावको तीव्र आलोचना भइरहेको छ । आलोचकहरूले आईसीईका एजेन्टहरू विमानस्थल सुरक्षा जाँचका लागि प्रशिक्षित नभएको र यस्तो कदम कानुनी तथा मानवीय दृष्टिले विवादास्पद हुन सक्ने बताएका छन् । यसैबिच, बन्दका कारण उत्पन्न संकट समाधान गर्न कङ्ग्रेस र ह्वाइट हाउसबीच वार्ता जारी रहे पनि अहिलेसम्म ठोस सहमति हुन सकेको छैन । विमानस्थलमा बढ्दो अव्यवस्था र सुरक्षासम्बन्धी चिन्ताबिच ट्रम्पको यो चेतावनीले अमेरिकी राजनीति र सुरक्षा व्यवस्थामा थप तनाव सिर्जना गरेको छ ।




.gif)



