अर्थसमाचार संवाददाता शिव न्यौपाने । अस्ट्रेलिया । विगत तीन दशकभन्दा लामो अनुसन्धान यात्रामा डा. राजु अधिकारीले अस्ट्रेलियाको प्रमुख अनुसन्धान संस्था CSIRO तथा जर्मनीको होहेनहाइम विश्वविद्यालयमा पोस्टडक्टोरल अध्ययनपछि CSIRO मा अनुसन्धान वैज्ञानिकका रूपमा महत्वपूर्ण योगदान दिएका छन्।
बायोमटेरियल टोलीका सदस्यका रूपमा उनले बायोएक्टिभ अणुबाट सुरु गरेको अनुसन्धानलाई बायोमटेरियल, पोलिमर, चिकित्सा अनुप्रयोग, कृषि तथा OLED प्रविधिसम्म विस्तार गरेका छन्। बहु-अनुशासनात्मक टोलीसँग काम गर्दै उनले अनुसन्धानलाई प्रयोगशालाबाट वास्तविक उत्पादनमा रूपान्तरण गर्ने अनुभव हासिल गरेका छन्।
उनको अनुसन्धानबाट २६ भन्दा बढी पेटेन्ट विकसित भएका छन्। यी पेटेन्टकै आधारमा PolyNovo Biomaterials Ltd र AorTech Biomaterials Ltd जस्ता दुई बायोमेडिकल स्टार्टअप स्थापना भएका थिए। PolyNovo हाल पनि अस्ट्रेलियामा सञ्चालनमा रहेको छ भने AorTech Biomaterials पछि AorTech International द्वारा अधिग्रहण गरिएको थियो।
त्यसैगरी, सिंथेटिक हार्ट भल्भसम्बन्धी प्रविधि हाल अमेरिकाको Foldax Inc को स्वामित्वमा पुगेको छ।
अनुसन्धानदेखि उत्पादनसम्मको यात्रा CSIRO जस्ता संस्थामा अनुसन्धान प्रारम्भिक चरणमा आन्तरिक कोषबाट सुरु हुन्छ। नयाँ अवधारणाको परीक्षणका लागि करिब ६ महिनाको ‘बीज कोष’ उपलब्ध गराइन्छ। प्रारम्भिक नतिजा सकारात्मक भएमा थप १२ महिनासम्मको अनुसन्धानका लागि अतिरिक्त लगानी गरिन्छ।
यस अवधिमा प्रोटोटाइप विकास, बायोकम्प्याटिबिलिटी परीक्षण तथा अन्य प्राविधिक मूल्याङ्कन गरिन्छ। पर्याप्त प्रमाण जुटेपछि बौद्धिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न अस्थायी पेटेन्ट दर्ता गरिन्छ।
आविष्कार र नवप्रवर्तन आविष्कार पूर्णतः नयाँ प्रविधि वा उत्पादन हो भने नवप्रवर्तन भनेको विद्यमान प्रविधिमा सुधार वा विस्तार हो। यी दुवैको संयोजनले बजारयोग्य उत्पादन विकास सम्भव हुन्छ।
पेटेन्ट र व्यावसायीकरण पेटेन्ट संरक्षण महँगो प्रक्रिया हो, जसका लागि वार्षिक २०–३० हजार डलर खर्च हुन सक्छ। सामान्यतया पेटेन्ट २० वर्षसम्म मान्य हुन्छ।
प्रयोगशालाबाट पूर्ण व्यावसायिक उत्पादनमा रूपान्तरण हुन ८–१० वर्ष समय र बहु–मिलियन डलर लगानी आवश्यक पर्छ।
CSIRO मा गरिएको अनुसन्धानबाट विकसित प्रमुख उत्पादनहरूमा सिंथेटिक मुटुको भल्भ, कृत्रिम छाला, पेसमेकर कोटिंग र हड्डी मर्मत बायोमटेरियलहरू रहेका छन्।
नेपालको लागि अवसर डा. अधिकारीका अनुसार नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्न ‘इनोभेसन टेक्नोलोजी हब’ स्थापना आवश्यक छ। यस्तो हबले अनुसन्धानकर्तालाई प्रयोगशाला सुविधा, नियामक सहयोग, व्यावसायीकरण परामर्श तथा लगानीकर्तासँग जोड्ने काम गर्न सक्छ।
सरकारले अनुसन्धान उपकरणमा कर छुट, पेटेन्ट खर्चमा सहयोग, प्रारम्भिक अनुदान र सहुलियतपूर्ण पूर्वाधार उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपालमा पेटेन्ट अवस्था नेपाल पेटेन्ट सहयोग सन्धि (PCT) को सदस्य नभए पनि पेरिस महासन्धिको सदस्य हो। नेपालमा पेटेन्ट दर्ता उद्योग विभागमार्फत हुने गर्दछ। पेटेन्ट संरक्षण नेपाल पेटेन्ट ऐन, १९६५ अनुसार सञ्चालनमा रहेको छ।
यस प्रकारको पूर्वाधार विकासले नेपालमा अनुसन्धानलाई बजारयोग्य उत्पादनमा रूपान्तरण गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।




.gif)





