काठमाडौँ । घोडेजात्रा को अवसरमा जीवित देवी कुमारीलाई विशेष बाजागाजा सहित कुमारी घर, वसन्तपुर ल्याइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रामा सहभागी गराएपछि परम्पराअनुसार बुधबार कुमारीलाई पुनः कुमारी घर फर्काइएको हो ।
यस क्रममा कुमारी घरबाट परम्परागत बाजागाजा सहित कुमारीलाई जात्रा स्थलसम्म सवारी गराइएको थियो । कुमारीको दर्शनका लागि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको थियो । सुन्धारास्थित नेपाल वायुसेवा निगम को भवनबाट कुमारीलाई जात्रा अवलोकन गराइएको कुमारी घरका प्रबन्धक गौतम शाक्यले जानकारी दिए। उक्त भवनमा कुमारी अवलोकनका लागि विशेष कक्षको व्यवस्था गरिएको छ ।
टुँडिखेलस्थित सैनिक मञ्च अगाडि आयोजित कार्यक्रममा नेपाली सेनाले घोडा दौड तथा विविध कला प्रदर्शन गरेको थियो ।
कुमारीलाई तलेजु भवानी को प्रतीक तथा शक्तिको अवतार मानिन्छ । भूत–प्रेत भगाउने र सहरको रक्षा गर्ने धार्मिक विश्वाससँग जोडिएको यस जात्रामा कुमारीको सहभागिता सांस्कृतिक रूपमा अनिवार्य मानिन्छ ।
काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा यो जात्रा मनाइन्छ । विभिन्न अवसरमा राष्ट्रप्रमुखले समेत कुमारीको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।




.gif)





