नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ४ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताए। चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उहाँले बताए। यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठूला व्यवसायीकहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताए। जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ ।
कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उहाँले बताए। अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताए।




.gif)





