सिरहा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिरहा जिल्लाबाट ११ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार जिल्लाभरबाट कुल ११ हजार ३७ परीक्षार्थीले परीक्षा दिने तयारी पूरा भएको छ। यसमा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फ ४१२ विद्यार्थी रहेका छन्।परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये साधारणतर्फ नियमित ९ हजार ८१२ र ग्रेड वृद्धिका लागि ८१३ जना रहेका छन्। त्यस्तै प्राविधिक धारतर्फ नियमित ३६५ र ग्रेड वृद्धिका लागि ४७ परीक्षार्थी सहभागी हुँदैछन्। लैङ्गिक आधारमा हेर्दा यस वर्ष सिरहामा ५ हजार ७२९ छात्र र ५ हजार ३०८ छात्राले परीक्षा दिने तथ्याङ्क छ।
जिल्लाभरका परीक्षार्थीलाई पायक पर्ने गरी शिक्षा विकास तथा समन्वय इकाईले ५१ वटा परीक्षा केन्द्र तोकेको छ। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक जनशक्ति तथा सुरक्षा प्रबन्ध मिलाउने कार्य भइरहेको इकाईले जनाएको छ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कार्यतालिका अनुसार यस वर्षको एसईई परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्नेछ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।




.gif)



