काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो ।राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतासँगै बोर्डले आगामी चैत २५ गते पर्ने ‘स्वास्थ्य बिमा दिवस’ को अवसर पारेर स्वास्थ्य बिमाको नयाँ दर्ता प्रक्रिया समेत अनलाइनमार्फत नै सुरु गर्ने गृहकार्य गरिरहेको छ । अहिलेसम्म स्वास्थ्य बिमाको नवीकरण मात्र अनलाइनबाट हुँदै आएकोमा अब भने नयाँ बीमितले दर्ताका लागि पनि अनलाइनबाटै सुविधा पाउनेछन् ।स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार नयाँ प्रणाली लागु भएपछि नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुने सुविधा पाउनेछन् । ‘अब स्वास्थ्य बिमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले भने ।
नआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बिमा सम्बन्धी हाल देखिएका धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । हाल स्वास्थ्य बिमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने तथा कार्डको गलत प्रयोग हुने समस्या देखिएको थियो ।देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बिमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने मल्लले बताए । ‘एनआईडी नम्बरको आधारमा प्रणाली जोडिँदा यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ,’ उनले भने ।नयाँ व्यवस्थासँगै स्वास्थ्य बिमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरण समेत लागु गर्ने बोर्डको योजना छ ।




.gif)





