images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड...

सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड हिनामिना

सिटिजन्स बैंकको कञ्चनबारी शाखामा पाँच करोड हिनामिना

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • विराटनगर। सिटिजन्स बैंक विराटनगर-४ स्थित कञ्चनबारी शाखामा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ। बैंकका कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको पाइएपछि पाँच जना कर्मचारीलाई निलम्बन गरी छानबिनको दायरामा ल्याइएको हो।बैंकले गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ। हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैंकले प्रहरी गुहारेको हो।

    images
    images

    यसरी हुन्थ्यो घोटाला

    बैंकका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले (मुद्दती निक्षेप) फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ। करिब दुई महिनाअघि नै आन्तरिक छानबिनका क्रममा यो बदमासी सतहमा आएको थियो।यस घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेललाई मुख्य आरोपी बनाइएको छ। विराटनगर निवासी कणेलसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको छ र थप अनुसन्धानका लागि उनीहरूको विवरण प्रहरीलाई बुझाएको छ।

    images
    images

    सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले कर्मचारीले घरकै पैसा चलाए जस्तो गरी नक्कली कागजात बनाएर अनियमितता गरेको स्वीकार गरे। उनले भने, ‘रोजी कणेलले अपरेसन इन्चार्जको जिम्मेवारीमा रहेर अनधिकृत रूपमा कारोबार र बदमासी गरेको सत्य हो। उनले पदीय मर्यादाविपरीत अनइथिकल काम गरिन्। यो एक प्रकारले घरको पैसा चलाए जस्तै देखिएको छ।’सूचना अधिकारी अधिकारीका अनुसार मुख्य आरोपी रोजी कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् र हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो नाममा रहेको एउटा जग्गा बैंकलाई बुझाइसकेकी छिन्।जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले बैंकबाट निवेदन प्राप्त भएको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको पुष्टि गरे। प्रहरीले बैंकसँग संलग्न सबै कर्मचारीको विस्तृत विवरण र आन्तरिक अनुसन्धान प्रतिवेदन माग गरिसकेको छ।बैंकका सूचना अधिकारी अधिकारीले यो बैंकभित्रको आन्तरिक बदमासी भएकाले सर्वसाधारणको निक्षेपमा कुनै असर नपर्ने स्पष्ट पारेका छन्। ‘यो बैंकभित्र कर्मचारीले गरिएको बदमासी हो, सेवाग्राहीलाई यसबाट कुनै समस्या हुँदैन, उनीहरूको पैसा पूर्ण रूपमा सुरक्षित छ,’ उनले ग्राहकलाई आश्वस्त पार्दै भने। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend