काठमाडौँ । नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्यापार प्रवद्र्धनका लागि नेपाल र भारतका निकायबीच सहकार्य गर्ने सहमति भएको छ।
नेपालमा आयोजना गरिएको नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग संघ र भारत सरकारअन्तर्गतको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद् (ईईपिसी) बीच यस्तो सहमति भएको हो।
सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक तथा प्राविधिक रूपमा थप सशक्त बनाउन विभिन्न क्षेत्रमा सहकार्य गर्नेछन्। औषधि उत्पादन क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि, अनुसन्धान तथा व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित रूपमा सेमिनार, तालिम तथा गोष्ठीहरू आयोजना गरिने जनाइएको छ।
सम्झौतामा औषधि उद्योगको दिगो विकासका लागि औद्योगिक भ्रमण, प्राविधिक सहकार्य तथा व्यापारिक अवसर विस्तार गर्न दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यस सहकार्यले नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न, उत्पादन क्षमता बढाउन तथा गुणस्तरीय औषधि उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।




.gif)





