काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। विदेशमा रहेका नेपालीलाई समर्पित र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभागको स्थापना गरिएको बैंकले जनाएको छ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक शुभारम्भ गर्नुभयो।
बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत अन्तर्राष्ट्रिय उपस्थिती, प्रविधि तथा सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका नेपाली ग्राहकलाई एकद्वार प्रणालीमार्फत विशेष प्राथमिकतासहित बैंकिङ सेवा प्रदान गरिनेछ।
यस विभागमार्फत विदेशमा रहेका नेपालीले बैंक खाता खोल्ने, कर्जा प्राप्त गर्ने, ट्रान्जेक्सन बैंकिङ सेवा लिने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागीय कार्यालयमार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।
विदेशमा रहेका नेपालीको सेवामा सहजीकरण गर्न बैंकले सहायता कक्षसमेत स्थापना गर्ने भएको छ। भविष्यमा उक्त सेवा कक्षमार्फत २४ सै घण्टा बैंकिङ सेवा प्रदान गर्ने तयारी बैंकले गरेको छ।
सन् २००७ मा स्थापना भएयता ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोरालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवा विस्तार गर्दै आएको छ। बैंकले रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकसँग सहकार्य सुदृढीकरण तथा विभिन्न देशमा प्रतिनिधि कार्यालय स्थापना गर्दै सेवा विस्तार गरेको जनाएको छ।
विभागको उद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगारी तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार भएको बताउनुभयो। उहाँले नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट उपलब्ध हुने सेवाले विदेशमा बसोबास गर्ने नेपालीलाई नेपालसँग आर्थिक तथा लगानीका हिसाबले जोडिन सहज बनाउने बताउनुभयो। उहाँका अनुसार यस पहलसँगै बैंकले विदेशमा रहेका नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरण सुरु गरेको छ।
ग्लोबल आइएमई बैंकका अनुसार विभागको कार्यालय काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहनेछ। विदेशमा रहेका नेपालीले फोन, इमेल, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकलाई सन् २०२४ मा ग्लोबल फाइनान्सले ‘बेष्ट बैंक अवार्ड’ प्रदान गरेको थियो भने युरो मनी को ‘अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत पनि नेपालको उत्कृष्ट बैंकका रूपमा सम्मानित गरिएको थियो।
बैंक हाल मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ। बैंकका ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान हुँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।




.gif)





