images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा...

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • बेइजिङ, २६ फागुन (रासस—एएफपी) कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि फेरि सुरु हुने तयारी गरिएको छ ।

    images
    images

    बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा यो रेल सेवा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा काम, अध्ययन वा परिवार भेटघाटका लागि आवतजावत गर्ने उत्तर कोरियालीहरूका लागि खुला हुनेछ ।

    यद्यपि हालका लागि पर्यटकहरूलाई भने टिकट खरिद गर्ने अनुमति दिइने छैन ।

    images
    images

    उत्तर कोरियाको यात्रासम्बन्धी सेवा प्रदान गर्ने कम्पनी यङ पायोनियर टुरका टुर म्यानेजर रोवान बियर्डले रेल सेवा पुनः सुरु हुनु सकारात्मक सङ्केत भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय रेल सेवा फेरि सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताउनुभयो ।

    उहाँका अनुसार उत्तर कोरियाको भ्रमण व्यवस्थापनमा विशेषज्ञता राख्ने धेरै कम्पनीमध्ये आफ्नो कम्पनीले पनि बिहीबारदेखि चल्ने रेलका टिकट बुकिङ गर्न सक्नेछ ।

    उहाँले सुरुआती चरणमा सेवा पर्यटकका लागि लक्षित नभए पनि भविष्यमा उत्तर कोरियाको पर्यटन गतिविधि पुनः खुला भएपछि यो रेल यात्रा अर्को महत्त्वपूर्ण विकल्प बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यसले उडान सेवाको विकल्पका रूपमा यात्रुहरूलाई थप सुविधा दिनेछ ।

    कोभिड–१९ महामारी फैलिन थालेपछि उत्तर कोरियाले कडा नियन्त्रण नीति अपनाउँदै सन् २०२० मा सीमापार यात्रा लगभग पूर्ण रूपमा रोकिएको थियो । त्यसै क्रममा चीन र उत्तर कोरियाबीचको रेल यात्रा पनि स्थगित गरिएको थियो ।

    पछिल्लो समय भने उत्तर कोरियाले केही अन्तर्राष्ट्रिय आवागमन क्रमशः पुनः सुरु गर्दै आएको छ । गत वर्ष उत्तर कोरिया र रुसबीच प्रत्यक्ष उडान तथा रेल सेवा पुनः सञ्चालनमा ल्याइएको थियो ।

    विशेष गरी युक्रेन युद्ध सुरु भएपछि मस्को र प्योङयाङबीच सम्बन्ध थप नजिकिँदै गएको पृष्ठभूमिमा ती यातायात सेवाहरू पुनः सुरु गरिएको बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend