काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो सात महिनामा नेपालले साढे २५ अर्ब रुपैयाँभन्दा बढीको चामलजन्य वस्तु आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको ५ लाख १४ हजार टन चामलजन्य वस्तु आयात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको ५ लाख १५ हजार टन चामलजन्य वस्तु आयात भएको थियो। यसबाट चालु वर्षमा चामल आयात लगभग अघिल्लो वर्षकै हाराहारीमा रहेको देखिन्छ।
स्वदेशी उत्पादनले बजारको माग पूरा गर्न नसक्दा नेपालले हरेक वर्ष ठूलो परिमाणमा चामल आयात गर्नुपरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशमा वार्षिक करिब ७ लाख टन चामल अपुग हुने अवस्था रहेको छ। तर, आयात भने आन्तरिक मागभन्दा बढी भइरहेको तथ्यांकले देखाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएपछि पछिल्लो समय नेपालमा चामल आयात बढेको हो। भारतीय बजारबाट चामल सस्तो पर्ने भएकाले व्यापारीहरू स्वदेशीभन्दा आयातित चामल रोज्ने प्रवृत्ति बढेको उनले बताए।
उनका अनुसार पछिल्ला वर्षहरूमा स्वदेशी धान उत्पादन बढ्दै गए पनि आन्तरिक मागअनुसार अझै करिब ७ लाख टन चामल अपुग छ। तर, मागभन्दा बढी आयात हुनुको कारणबारे विस्तृत अध्ययन आवश्यक रहेको उनले बताए।
यसैबीच कृषि मन्त्रालयले चालु आर्थिक वर्षमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घट्ने अनुमान गरेको छ। मन्त्रालयका अनुसार यस वर्ष करिब ५७ लाख ५ हजार १२६ टन धान उत्पादन हुने प्रक्षेपण गरिएको छ, जुन गत वर्षको ५९ लाख ५५ हजार ४७६ टनको तुलनामा ४।२० प्रतिशतले कम हो।
धान लगाइएको क्षेत्रफल पनि घटेको छ। गत वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा चालु वर्षमा करिब १३ लाख ७६ हजार ८७२ हेक्टरमा मात्रै रोपाइँ भएको अनुमान छ। त्यस्तै, उत्पादकत्व पनि ४।१९ टन प्रतिहेक्टरबाट घटेर ४।१४ टन प्रतिहेक्टर हुने अनुमान गरिएको छ।
धान रोपाइँको मुख्य समयमा परेको खडेरी, त्यसपछि आएको बाढी र पहिरो तथा बेमौसमी वर्षाले पनि धान उत्पादनमा नकारात्मक असर परेको मन्त्रालयले जनाएको छ।




.gif)





