काठमाडौँ । गर्भावस्थामा देखिने मधुमेह आजकल बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ। शरीरमा इन्सुलिनको कमी हुनु, इन्सुलिन पर्याप्त मात्रामा उत्पादन नहुनु वा कोष तहमा इन्सुलिनको काममा अवरोध उत्पन्न हुँदा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ। यो एक प्रकारको जीर्ण मेटाबोलिक समस्या हो, जसले शरीरमा बोसो र प्रोटिन टुक्रिने प्रक्रियामा समेत असर पार्छ।
मधुमेहले शरीरका प्रायः सबै अंगहरूलाई प्रभावित पार्न सक्छ। लामो समयसम्म नियन्त्रणमा नरहेमा यसले आँखामा गम्भीर समस्या निम्त्याउन सक्छ। मोतीबिन्दु चाँडै देखिनु, आँखाको पर्दा (रेटिना) मा समस्या आउनु तथा अन्धोपनासम्मको जोखिम बढ्नु यसका प्रमुख उदाहरण हुन्।
यसका साथै मधुमेहले मुटु तथा रक्तनली प्रणालीमा पनि असर पार्छ। यसका कारण उच्च रक्तचाप, मुटु दुख्ने समस्या तथा हृदयाघातको जोखिम बढ्न सक्छ। मिर्गौलामा असर परेमा प्रोटिन अत्यधिक मात्रामा खेर जाने र शरीर सुन्निने समस्या देखिन सक्छ। समयमै उपचार नगरेमा मिर्गौलाको कार्यक्षमता घट्दै जाने सम्भावना हुन्छ।
त्यस्तै, मधुमेहले मस्तिष्क तथा स्नायु प्रणालीमा पनि असर पार्न सक्छ। स्मरण शक्ति कमजोर हुनु, संवेदनशीलता कम हुनु, रिंगटा लाग्नु तथा पक्षघातको जोखिम बढ्नु यसको अन्य सम्भावित प्रभावहरू हुन्।
विशेषज्ञहरूका अनुसार गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम तथा चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ। समयमै सचेतना अपनाएमा आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित राख्न मद्दत पुग्छ।




.gif)





