काठमाडौँ । इजरायल र संयुक्त राज्य अमेरिकाद्वारा इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणपछि गल्फ क्षेत्रमा उत्पन्न हवाई संकटका कारण अलपत्र परेका यात्रुहरूको उद्धारका लागि कतार एयरवेजले ६ दिनपछि सीमित राहत उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
एयरलाइन्सका अनुसार दोहाबाट नभई ओमानको मस्कटबाट लन्डन हिथ्रो, बर्लिन, कोपेनहेगन, म्याड्रिड, रोम र एम्स्टर्डमका लागि राहत उडान सञ्चालन गरिनेछ। साथै साउदी अरबको रियादबाट फ्रान्कफर्टका लागि पनि एक राहत उडान सञ्चालन गरिने जनाएको छ।
हाल सञ्चालन गरिने राहत उडानहरू विभिन्न स्थानमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको एयरलाइन्सले जनाएको छ। तर उक्त राहत उडान सूचीमा नेपाल भने परेको छैन।
यसैबीच कतार एयरवेजका दुई वाइडबडी जहाज शनिबारदेखि काठमाडौंमै रोकिएका छन्। गल्फ क्षेत्रमा जारी तनावका कारण कतारको हवाई आकाश बन्द भएपछि एयरलाइन्सका नियमित उडानहरू अस्थायी रूपमा स्थगित गरिएको हो।
कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई आकाश सुरक्षित रूपमा पुनः खुला भएको घोषणा गरेपछि मात्र नियमित उडान सेवा पुनः सञ्चालन गरिने एयरलाइन्सले स्पष्ट पारेको छ।
यस सम्बन्धमा थप जानकारी शुक्रबार दोहा समय अनुसार बिहान ९ बजे उपलब्ध गराइने कतार एयरवेजले जनाएको छ। साथै यात्रुहरूलाई आधिकारिक सूचना प्राप्त नभएसम्म विमानस्थल नजान पनि आग्रह गरिएको छ।




.gif)





