मनाङ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने भएको छ ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनाङमा ५४.८० प्रतिशत मत खसेको जानकारी दिए। उहाँका अनुसार यहाँ कुल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ मतदाताले मतदान गरेका उहाँले बताए ।
“सहज भएको स्थानबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ”, उनले भने । प्रत्यक्षतर्फ एक हजार ३७५ महिला र एक हजार ५१७ पुरुषले मतदान गरेका छन् भने समानुपातिकतर्फ ३१ र पुरुष २१० गरी जम्मा २४१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए ।
“अहिले सम्भव नभएपछि मनाङको विकट क्षेत्र नार्पाभूमिको मतपेटिका शुक्रबार सेनाको हेलिकप्टरमार्फत ल्याइनेछ”, उनले भने। हालसम्म पनि सडक सञ्जालले नछोएको नार्पाभूमिको मतदान सकिए पनि भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन सकस भएको उनले बताए ।
जिल्लामा शान्त तथा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए। “जिल्लामा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । मतदाताको सहभागिता पनि उत्साहजनक रह्यो,” उनले भने ।
मनाङमा कुल मतदाता सात हजार रहेका थिए । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।




.gif)





