images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • काठमाडौंको पेट्रोल पम्पमा लाइन, निगम भन्छ,आपूर्ति...
नेपाल आयल निगम

काठमाडौंको पेट्रोल पम्पमा लाइन, निगम भन्छ,आपूर्ति नियमित

काठमाडौंको पेट्रोल पम्पमा लाइन, निगम भन्छ,आपूर्ति नियमित

images
images
मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • काठमाडौँ । अमेरिका–इरान युद्ध सुरु भएको हल्लासँगै काठमाडौं उपत्यकाका पेट्रोलियम पम्पहरूमा आइतबारदेखि उपभोक्ताको भीड बढेको छ। सोमबार होलीको सार्वजनिक बिदाका दिन पनि विभिन्न पम्पमा लाइन देखिएको छ भने केही पम्प अस्थायी रूपमा बन्द भएका छन्।

    images
    images

    नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आइतबार मात्रै उपत्यकामा पेट्रोल र डिजेल गरी करिब १,६५० किलोलिटर खपत भएको छ, जुन शनिबार सम्मको सरदर ८०० किलोलिटरभन्दा झन्डै दोब्बर हो। बढ्दो मागलाई सम्बोधन गर्न निगमले आइतबार नै १,६०० किलोलिटर पेट्रोल र १,२०० किलोलिटर डिजेल बजारमा पठाएको जनाएको छ।

    निगमका अनुसार हाल देखिएको भीड प्रत्यक्ष रूपमा युद्धका कारण नभई सार्वजनिक बिदा र आसन्न निर्वाचनका कारण उपत्यका बाहिरिने सवारी साधनको चापका कारण भएको हो। “भारतबाट नियमित आपूर्ति भइरहेकाले तेल अभाव हुने अवस्था छैन,” प्रवक्ता ठाकुरले बताए। नेपालमा पेट्रोलियम पदार्थ मुख्यतः इन्डियन आयल कर्पोरेसन मार्फत आयात हुँदै आएको छ।

    images
    images

    भण्डारण क्षमता र आपूर्ति अवस्था

    नेपालको दैनिक खपत करिब २,०००–२,५०० किलोलिटर पेट्रोल र ४,०००–४,५०० किलोलिटर डिजेलको छ। २०७६ सालदेखि सञ्चालनमा आएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन मार्फत दैनिक ६,०००–७,००० किलोलिटर इन्धन आयात भइरहेको छ।

    हाल देशभर करिब १ लाख २ हजार किलोलिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको निगमको तथ्यांक छ। सामान्य अवस्थाको भण्डारणले करिब १० दिनसम्मको माग धान्न सक्ने बताइए पनि खपत अस्वाभाविक रूपमा बढेमा र आयात अवरुद्ध भएमा ३–४ दिनमै समस्या आउन सक्ने चेतावनी दिइएको छ।

    देशभर करिब २,००० पेट्रोल पम्प सञ्चालनमा छन्, जसमध्ये काठमाडौंमा मात्र करिब १३४ पम्प छन्। आइतबारको तुलनामा सोमबार अवस्था केही सहज बनेको निगमको दाबी छ।

    थप दुई पाइपलाइन निर्माणाधीन

    मोतीहारी–अमलेखगन्ज पाइपलाइन ६९ किलोमिटर लामो छ, जसमा ३६ किलोमिटर नेपालतर्फ र ३३ किलोमिटर भारततर्फ पर्छ। यससँगै सिलिगुडी–झापा र अमलेखगन्ज–चितवन पाइपलाइन निर्माणको चरणमा छन्। भारत सरकारको अनुदानमा निर्माण हुन लागेका यी परियोजना करिब चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    ग्यासमा कृत्रिम अभावको आशंका

    उपत्यकामा एक महिनादेखि एलपी ग्यास अभावको समस्या देखिए पनि निगमले आयात र वितरणमा कुनै समस्या नभएको जनाएको छ। आवश्यकताभन्दा बढी भण्डारणका कारण कृत्रिम अभाव सिर्जना भएको दाबी निगमको छ।

    हाल मासिक करिब ५१ हजार टन ग्यास आयात भइरहेको छ भने मासिक खपत करिब ४६ हजार टन रहेको छ। दैनिक खपत करिब १,५०० टन (७०–७५ बुलेट) रहेको निगमले जनाएको छ। आगामी निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरीका लागि थप २ हजार टन आयात बढाइएको छ।

    निगमले उपभोक्तालाई अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न र हल्लाका पछि नलाग्न आग्रह गरेको छ। मंगलबारबाट स्थिति थप सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend