म्याड्रिड । स्पेन सरकारले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी बनाइएका बाल यौन दुरुपयोगसम्बन्धी सामग्री फैलाएको आरोपमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स, मेटा र टिकटकमाथि अनुसन्धान गर्न सरकारी अभियोजकलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलबार आफ्नो एक्स अकाउन्टमार्फत यी प्लेटफर्महरूले बालबालिकाको मानसिक स्वास्थ्य, सम्मान र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । राज्यले यस्ता गतिविधि सहन नसक्ने भन्दै सान्चेजले ठुला प्रविधि कम्पनीहरूको दण्डहीनता अन्त्य हुनुपर्ने बताएका छन् ।
यो घोषणा युरोपेली नियामक निकायहरूले बिग ठुला प्राविधिक कम्पनीहरू विरुद्ध कडा कदम चालिरहेको समयमा आएको हो । नियामकहरूले डिजिटल विज्ञापनमा प्रतिस्पर्धा विरोधी व्यवहार र सामाजिक सञ्जालमा लत लगाउने डिजाइन प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।यसअघि सान्चेजले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्तावसहित अनलाइन दुरुपयोग नियन्त्रणका उपायहरू घोषणा गरेका थिए । हाल फेसबुक र टिकटक लगायत सामाजिक सञ्जाल प्रयोग गर्न पाउने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । स्पेनमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको समर्थन बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।
इप्सोस एजुकेसन मोनिटर सन् २०२५ अनुसार १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्नुपर्ने पक्षमा ८२ प्रतिशत स्पेनिस नागरिक देखिएका छन् । स्पेन मात्र नभई अन्य देशहरूले पनि एआईमार्फत बनाइएका यौनजन्य सामग्रीबारे अनुसन्धान थालेका छन् ।अस्ट्रेलियाले डिसेम्बरमा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रयोगमा राष्ट्रिय प्रतिबन्ध लागू गर्दै नियम उल्लङ्घन गर्ने प्लेटफर्मलाई ३ करोड ३० लाख डलरसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । स्पेनको यो कदमलाई अनलाइनबाट बालबालिकालाई सुरक्षित गर्ने विश्वव्यापी पहलको हिस्सा मानिएको छ ।




.gif)





