काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्य सहित राष्ट्रिय सूचना प्रविधि (आईसीटी) छात्रवृत्ति पुरस्कार–२०८२ अन्तर्गत ५९ विद्यार्थीलाई कुल २ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ।
यसका लागि नेपाल प्रहरी श्रीमती सङ्घ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन बीच शैक्षिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो। समझदारी पत्रमा सङ्घका अध्यक्ष नबिना खत्री कार्की र फाउन्डेसनका अध्यक्ष पङ्कज जालानले हस्ताक्षर गर्नु भएको हो।
गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीमा सेवारत, अवकाश प्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर तहमा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ।
सन् १९९८ मा स्थापना भएको लर्ड बुद्ध एजुकेशन फाउन्डेसन नेपालकै पहिलो सूचना प्रविधि कलेजका रूपमा परिचित छ। विगत २६ वर्षभन्दा बढी समय देखि संस्थाले आईटी तथा व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत सेवा, अवकाश प्राप्त तथा शहादत प्राप्त प्रहरी परिवारका सदस्य र आश्रितका साथै हाल कार्यरत नेपाल प्रहरी कर्मचारीहरू लाभान्वित हुनेछन्। विशेष प्राथमिकतामा छात्राहरूलाई राखिएको छ।
कार्यक्रमअन्तर्गत सूचना प्रविधिमा स्नातक (बीएस्सी आईसीटी कोर), व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) र सूचना प्रविधि व्यवस्थापनमा स्नातकोत्तर (एमएस्सी आईसीटीएम) कार्यक्रममा अध्ययनका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ।
महिला मेधावी आईसीटी छात्रवृत्ति अन्तर्गत १०० प्रतिशत ‘सरस्वती, ५० प्रतिशत ‘लक्ष्मी’ र ३० प्रतिशत ‘दुर्गा’ छात्रवृत्ति उपलब्ध हुनेछ। त्यसैगरी खुला मेधावी आईसीटी छात्रवृत्ति अन्तर्गत ५० प्रतिशत ‘शक्ति’ र ३० प्रतिशत ‘साथी’ छात्रवृत्ति प्रदान गरिनेछ।
स्नातक तहका लागि प्लस टु वा सो सरह उत्तीर्ण गरेको तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गणित विषयमा न्यूनतम ५० प्रतिशत अंक प्राप्त गरेको हुनु पर्नेछ। स्नातकोत्तर तहका लागि सम्बन्धित विषयमा स्नातक उपाधि र न्यूनतम २.७५ श्रेणीाङ्क आवश्यक पर्नेछ। अन्तिम नतिजा प्रतीक्षारत विद्यार्थीहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
छात्रवृत्ति छनोट प्रक्रिया नेपाल प्रहरी श्रीमती सङ्घद्वारा गठित छनोट समितिले गर्नेछ। छात्रवृत्ति निरन्तरताका लागि प्रत्येक सेमेस्टरमा सबै विषय पहिलो प्रयासमै उत्तीर्ण गर्नुपर्नेछ र न्यूनतम ८५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ। अनुशासनहीनता वा नियम उल्लङ्घन भएको पाइएमा छात्रवृत्ति रद्द हुन सक्ने व्यवस्था गरिएको छ।
फाउन्डेसनका अध्यक्ष पङ्कज जालानले यस पहलमार्फत नेपाल प्रहरी परिवारका सदस्यहरूको शैक्षिक सशक्तीकरण र सूचना प्रविधि तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।




.gif)





