images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • सोया बरीमा ४५ प्रतिशत प्रोटिन अनिवार्य,...

सोया बरीमा ४५ प्रतिशत प्रोटिन अनिवार्य, रासायानिक तत्त्वमा प्रतिबन्ध

सोया बरीमा ४५ प्रतिशत प्रोटिन अनिवार्य, रासायानिक तत्त्वमा प्रतिबन्ध

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौँ ।  सरकारले व्यापक रूपमा उपभोग हुने सोया बरी (सोया चङ्क्स, सोया बडी, सोया नगेट्स वा सोया ग्रानुल्स) को गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै यससम्बन्धी विस्तृत सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।यस नयाँ व्यवस्थासँगै अबदेखि नेपालभर उत्पादन र बिक्री हुने सोयाजन्य उत्पादनहरूले सरकारले तोकेका निश्चित रासायनिक, भौतिक र जैविक मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।  

    images
    images

    के हो सोया बरी ?

    मन्त्रालयद्वारा जारी गरिएको सूचनामा सोया बरीलाई प्राविधिक रूपमा परिभाषित गरिएको छ । जसअनुसार तेल निकालिएको (डिफ्याटेड) भटमासको पिठो, ग्रिट्स वा दलियामा अन्य उपभोगयोग्य वनस्पतिजन्य प्रोटिन राखी वा नराखी ‘एक्स्टुजन’ प्रविधिबाट तयार पारिएको ‘टेक्सचराइज्ड’ सुक्खा सोया प्रोडक्टलाई नै सोया बरी मानिनेछ ।बजारमा पाइने सोया चङ्क्सदेखि साना दाना भएका सोया ग्रानुल्ससम्म सबै यसै मापदण्डको परिधिभित्र समेटिएका छन् । सरकारले सोया बरीको मौलिकता र गुणस्तर कायम राख्न यसमा अन्य कुनै खाद्य पदार्थ मिसाउनुपर्ने भएमा त्यसको मात्रा कुल तौलको बढीमा तीन प्रतिशतसम्म मात्र हुन पाउने कडा सीमा निर्धारण गरेको छ । यसले सोया बरीमा हुने अनावश्यक मिसावटलाई निरुत्साहित गर्ने विश्वास गरिएको छ ।

    images
    images

    सोया बरीको भौतिक अवस्थाका बारेमा बोल्दै मन्त्रालयले यो उत्पादन पूर्णरूपमा स्वच्छ, सफा र यसको प्राकृतिक स्वाद एवं बास्नायुक्त हुनुपर्ने प्रावधान राखेको छ । उत्पादनमा कुनै पनि प्रकारको ढुसी लागेको, कीरा लागेको वा सडेको अवस्था हुन नहुने र कुनै पनि अप्रिय गन्ध आउन नहुने कुरालाई अनिवार्य बनाइएको छ । साथै, सोया बरीको पोषक तत्वको सन्तुलन मिलाउन सरकारले विभिन्न प्राविधिक सूचकहरू तोकेको छ ।

    ४५ प्रतिशत प्रोटिन अनिवार्य

    नयाँ मापदण्ड अनुसार सोया बरीमा ओसको मात्रा १० प्रतिशतभन्दा बढी हुन पाउने छैन । प्रोटिनको मात्रामा विशेष ध्यान दिँदै सुक्खा तौलको आधारमा कम्तीमा ४५ प्रतिशत प्रोटिन हुनुपर्ने प्रावधान राखिएको छ । जसले उपभोक्तालाई उच्च प्रोटिनयुक्त खाद्य वस्तु प्राप्त हुने सुनिश्चित गर्छ ।  यस्तै कुल खरानीजन्यको मात्रा ८ प्रतिशत, क्रुड फाइबर ३.५ प्रतिशत र एसिडमा नघुल्ने खरानीको मात्रा ०.३ प्रतिशतभन्दा बढी हुन नहुने गरी सीमा निर्धारण गरिएको छ ।

    रासायनिक तत्वमा कडा प्रतिबन्ध

    स्वास्थ्य सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने रासायनिक तत्वहरूको प्रयोगमा पनि सरकारले निगरानी बढाएको छ । सोया बरी प्रशोधनका क्रममा प्रयोग हुन सक्ने ‘हेक्जेन’ वा अन्य अर्गानिक सल्भेन्टको अवशेष प्रति किलो १० मिलिग्रामभन्दा बढी हुन नहुने र कलेजोका लागि घातक मानिने ‘कुल अफ्लाटक्सिन’ को मात्रा प्रतिकिलो १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने कडा नियम बनाइएको छ । उपभोक्तालाई झुक्याउने गरी प्रयोग गरिने बाह्य कृत्रिम रङ, बाह्य सुगन्ध र दोस्रो श्रेणीका परिरक्षीहरूको प्रयोगलाई सोया बरीमा पूर्णरूपमा निषेध गरिएको छ । यस्ता प्रावधानहरूले सोया बरीलाई प्राकृतिक र स्वास्थ्यवर्द्धक बनाउन मद्दत पुग्ने देखिन्छ ।

    सोया बरीमा हुने बाह्य अखाद्य वस्तुहरूको मिश्रणलाई पनि मन्त्रालयले स्पष्ट रूपमा परिभाषित गर्दै प्रतिबन्धित गरेको छ । जैविक बाह्य पदार्थ अन्तर्गत मानिस वा जनावरको कपाल र रौं, भुस, चोकर, परालका टुक्रा, अखाद्य दाना तथा जिउँदो वा मरेका कीरा र मुसाका अवशेषहरूलाई पूर्णरूपमा वर्जित गरिएको छ । त्यसैगरी, अजैविक बाह्य पदार्थहरू जस्तै ढुङ्गा, माटो, बालुवा, काँचका टुक्रा, सिसा र प्लास्टिकका टुक्राहरूलाई पनि निषेधित सूचीमा राखिएको छ । यस्ता पदार्थहरूको उपस्थिति पाइएमा सम्बन्धित उत्पादकलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।यसका अतिरिक्त सोया बरीमा हुन सक्ने कीटनाशक विषादीको अवशेष, हेभी मेटल्स (भारी धातु) र अन्य हानिकारक सूक्ष्म जीवाणुहरूको मात्रा नेपाल सरकारले समय–समयमा तोकेको सीमाभित्रै रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।  

    प्याकेजिङ र लेबलिङमा विशेष ध्यान

    उत्पादनपछिको चरण अर्थात् प्याकेजिङ र लेबलिङमा पनि सरकारले विशेष ध्यान दिएको छ । सोया बरीलाई स्वच्छ र सुक्खा अवस्थामा राख्न अनिवार्य रूपमा ‘खाद्य ग्रेड’को प्याकेजिङ सामग्री प्रयोग गर्नुपर्नेछ र त्यसलाई पूर्णरूपमा सिलबन्द गरिनुपर्नेछ । प्याकेटको बाहिर राखिने लेबुलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेका सबै विवरणहरू (जस्तै- उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, ब्याच नम्बर र पोषणसम्बन्धी जानकारी) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । उत्पादनदेखि भण्डारण र बजारसम्मको ढुवानी प्रक्रियामा उच्च स्तरको स्वच्छता कायम राख्न मन्त्रालयले उद्योगीहरूलाई निर्देश गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend