images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • अविरल वर्षाले २० हाइड्रो प्रभावित: साढे...

अविरल वर्षाले २० हाइड्रो प्रभावित: साढे २ अर्बको क्षति

अविरल वर्षाले २० हाइड्रो प्रभावित: साढे २ अर्बको क्षति

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । दुई दिनयताको अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताए ।

    images
    images

    उनले विगतकोभन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको उनको भनाइ छ ।अहिलेसम्म २० आयोजना प्रभावित भएको र १८ आयोजनाहरुमा क्षति भएको जानकारीमा आएको बताए ।

    आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको उनको भनाइ छ । जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको कार्कीले बताए । बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उनको भनाइ छ ।

    images
    images

    धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको उनले बताए । सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको अध्यक्ष कार्कीले बताए ।आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको कार्कीले बताए ।

    बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन उनले माग गरे ।गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै उनले भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भने पनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए ।सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताए ।

    बाढी पहिरोका कारण क्षतिग्रस्त निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरुको प्रारम्भिक विवरण

    २० आयोजना प्रभावित, १५ आयोजनामै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति, अन्यको विवरण आउन बाँकी

    १) मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति ।

    २) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

    ३) पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।

    ४) साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी ।

    ५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।

    ६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

    ७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

    ८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।

    ९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।

    १०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी

    ११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

    १२) हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।

    १३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

    १४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।

    १५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।

    १६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

    १७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

    १८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।

    १९) टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।

    २०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend