म्याड्रिड । स्पेन सरकारले कागजातविहीन आप्रवासीहरूको हैसियत वैध बनाउने योजना सार्वजनिक गरेको छ । यसबाट कम्तीमा पाँच लाखभन्दा बढी अवैध आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ । नियमितीकरण प्रक्रिया अन्तर्गत आपराधिक अभिलेख नभएका र सन् २०२५ डिसेम्बर ३१ अघि कम्तीमा पाँच महिना स्पेनमा बसोबास गरेको प्रमाण प्रस्तुत गर्न सक्ने विदेशी नागरिकहरूलाई कानुनी मान्यता दिइनेछ ।स्पेनकी समावेशीकरण, सामाजिक सुरक्षा तथा आप्रवासन मन्त्री एल्मा साइजले यस निर्णयलाई देशका लागि ऐतिहासिक दिन भन्दै मानव अधिकार, सामाजिक एकता र आर्थिक वृद्धिसँग मेल खाने आप्रवासन मोडललाई बलियो बनाउने बताएकी छिन् ।
यस योजनाअन्तर्गत लाभग्राहीलाई सुरुमा एक वर्षको आवासीय अनुमति दिइनेछ, जुन पछि नवीकरण गर्न सकिनेछ । कानुनीकरणका लागि आवेदन प्रक्रिया अप्रिलदेखि सुरु भई जुनको अन्त्यसम्म खुला रहनेछ ।हालैका वर्षहरूमा स्पेनमा विशेषगरी ल्याटिन अमेरिकाबाट ठूलो संख्यामा आप्रवासी आइरहेका छन् । रूढिवादी थिंक–ट्यांक फुनकासका अनुसार सन् २०१७ मा १ लाख ७ हजार रहेको कागजातविहीन आप्रवासीको संख्या सन २०२५ मा बढेर ८ लाख ३७ हजारभन्दा बढी पुगेको छ । सबैभन्दा धेरै आप्रवासी कोलम्बिया, पेरु र होन्डुरसबाट आएका मानिन्छन् ।
युरोपका ठूला मुलुकहरूबिच स्पेनको समाजवादी नेतृत्वको सरकार यस विषयमा फरक धारमा देखिएको छ । आप्रवासीको योगदानकै कारण स्पेनको अर्थतन्त्र सन् २०२५ मा करिब ३ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ । लामो समयदेखि समस्या बनेको बेरोजगारी दर पनि २००८ पछि पहिलो पटक १० प्रतिशतभन्दा तल झरेको छ ।




.gif)





