काठमाडौं ।स्वच्छ ऊर्जा र न्यून कार्बनीकरणतर्फ केन्द्रित हुँदै नेपालमा पनि अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको सन्दर्भमा आज राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाको सहकार्यमा मंगलबार ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनले बहसलाई व्यवहारमा रूपान्तरण गर्ने लक्ष्य लिएको केन्द्रले जनाएको छ ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइँदै आएको छ । पृथ्वी तथा मानवसहित सम्पूर्ण जीवजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि विश्वव्यापी सचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको हो ।
नेपालमा भने यो दिवस मनाउने मुख्य जिम्मेवारी केन्द्रले लिँदै आएको छ । यो सम्मेलन गत वर्ष सम्पन्न ‘उत्थानशील तथा न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्मेलन’को निरन्तरता हो ।सम्मेलनबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले अब बहस मात्र नभई न्यून कार्बनीकरणका कार्यक्रमहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । साथै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र त्यसमा केन्द्रको भूमिकाबारे प्रकाश पार्नभएको थियो । केन्द्रका अनुसार हालसम्म करिब ३७ लाख घरधुरीमा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गरिएको छ भने ऊर्जा क्षेत्रमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ । कार्बन व्यापारमार्फत केन्द्रले हालसम्म करिब ३६ मिलियन अमेरिकी डलर अर्थात करिब सवा ५ अर्ब रुपियाँ आम्दानी गरिसकेको जनाएको छ ।
यस वर्षको सम्मेलनले न्यून कार्बनीकरणको व्यवहारिक पक्षमा विशेष जोड दिँदै ‘बहसबाट व्यवहारमा जाने’ उद्देश्य लिएको केन्द्रले जनाएको छ ।एकदिने सम्मेलनमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ सम्बन्धी प्रस्तुतिका साथै स्वच्छ ऊर्जा तथा कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत न्यून कार्बनीकरण तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारीमा लगानी जस्ता विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।सम्मेलनका प्रमुख उद्देश्य न्यून कार्बनीकरण प्राथमिकतामाथि छलफल, लगानी संयन्त्रको पहिचान, कार्बन बजारका अवसर खोजी, सरोकारवालाबीच समन्वय र साझेदारी सुदृढीकरण रहेका छन् ।




.gif)





