काठमाडौँ । विश्वकै लोकप्रिय भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो एउटा निकै उपयोगी र लोकप्रिय फिचर प्लेब्याक स्पिड (Playback Speed) लाई सशुल्क बनाउने तयारी गरेको छ । हालै बाहिरिएको जानकारी अनुसार कम्पनीले यो फिचरलाई युट्युब प्रिमियमको पेवाल (Paywall) भित्र राख्ने नयाँ परीक्षण थालेको हो ।सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले सार्वजनिक गरेको जानकारी अनुसार युट्युबले हाल यो फिचरको परीक्षणका लागि प्रयोगकर्ताहरूलाई दुईवटा समूहमा विभाजन गरेको छ । समूह 'ए'मा रहेका प्रयोगकर्ताहरूले अझै पनि यो फिचर पहिले जस्तै निःशुल्क प्रयोग गर्न पाइरहेका छन् । तर, समूह 'बी' मा परेका प्रयोगकर्ताहरूका लागि प्लेब्याक स्पिड फिचरलाई प्रिमियम श्रेणीमा राखिएको छ । यसको अर्थ, समूह 'बी'का प्रयोगकर्ताहरूले अब भिडिओको गति बढाउन वा घटाउनका लागि युट्युब प्रिमियमको ग्राहक बन्नुपर्ने हुन्छ ।
युट्युबले धेरैभन्दा धेरै प्रयोगकर्ताहरूलाई प्रिमियम सब्सक्रिप्सन लिन प्रोत्साहित गर्नका लागि यस्ता सुविधाहरू थप्ने प्रयास गरिरहेको छ । हाल युट्युब प्रिमियम लिने प्रयोगकर्ताहरूले विज्ञापन रहित भिडिओ, ब्याकग्राउन्ड प्ले र अफलाइन डाउनलोड जस्ता सुविधाहरू पाउँछन् ।प्लेब्याक स्पिडलाई पनि प्रिमियम सेवामा समावेश गर्दा यो सेवा थप आकर्षक हुने कम्पनीको बुझाइ देखिन्छ । तर, वर्षौँदेखि निःशुल्क रूपमा यो सुविधा प्रयोग गरिरहेका साधारण प्रयोगकर्ताहरूका लागि भने यो निर्णय चुनौतीपूर्ण हुन सक्छ ।भिडिओको प्लेब्याक स्पिड युट्युबमा सबैभन्दा बढी प्रयोग हुने फिचरहरूमध्येको एक हो । यसले प्रयोगकर्ताहरूलाई आफ्नो समय बचत गर्न भिडिओको गति बढाउन वा कुनै कुरा विस्तृत रूपमा बुझ्न गति घटाउन मद्दत गर्छ । लामो समयदेखि सबैका लागि उपलब्ध यो फिचर अब सधैँका लागि निःशुल्क रहन्छ वा रहँदैन भन्नेमा संशय पैदा भएको छ ।
यदि युट्युबले अहिले गरिरहेको यो परीक्षण सफल भएको महसुस गरेमा, प्लेब्याक स्पिड स्थायी रूपमा प्रिमियम प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध एउटा विशेष सुविधा बन्नेछ । यद्यपि, यसबारे आधिकारिक जानकारीका लागि गुगलसँग प्रतिक्रिया मागिएको र कम्पनीको तर्फबाट थप स्पष्टीकरण आउन बाँकी रहेको एन्ड्रोइड अथोरिटीले जनाएको छ ।




.gif)





