काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपाल सरकारको कुल खर्च ४० अर्ब २१ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब ३८ करोड, पुँजीगत खर्च ८ अर्ब ५५ करोड र वित्तीय व्यवस्था खर्च १९ अर्ब २७ करोड रहेको राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितिमा उल्लेख छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९४ अर्ब ७४ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ७७ अर्ब ४१ करोड र गैरकर राजस्व १७ अर्ब ३३ करोड परिचालन भएको छ ।
नगद मौज्दात
२०८१ साउन मसान्तसम्ममा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १९७ अर्ब ८२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९९ अर्ब २७ करोड रुपैयाँ थियो ।
प्रदेश सरकारको खर्च तथा राजस्व
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ अर्ब ६२ करोड र स्रोत परिचालन ७ अर्ब ९१ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ५ अर्ब २० करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २ अर्ब ७१ करोड छ ।




.gif)





