images

२०८३ आश्विन २७ गते

images
images
images

चाडपर्व नजिकिएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

चाडपर्व नजिकिएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दशैं नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् ।

    images
    images

    गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेका पसलमा खानेतेल प्रतिपाकेट रु एक सयका दरले पाउने गरिएकामा मङ्गलबारदेखि प्रतिपाकेट रु एक सय २० देखि रु एक सय २२ सम्म पर्ने गरेको छ । यसरी चाडपर्वको मौका पारेर व्यापारीले मूल्य वृद्धि गरिरहेका भन्दै उनले सरोकार भएका निकायले आवश्यक अनुगमन गरी मूल्य वृद्धि रोक्नुपर्नेमा जोड दिए । 

    उपभोक्ता दीपा बस्नेतले चार दिन अघिसम्म मुसुरो दाल रु ९० देखि रु एक सय प्रतिकिलोका दरले पाइने गरेकामा मङ्गलबारदेखि प्रत्येक पसलमा रु एक सय २० देखि रु एक सय २५ पर्न थालेको जानकारी दिए । यसरी चाडवाडलाई लक्षित गरी व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई समस्यामा पार्ने काम भएको उनको भनाइ छ ।

    images
    images

    चामल, दाल, तेल, मसलालगायत दैनिक उपधोग्य वस्तुमा स्थानीय व्यापारीले मूल्य वृद्धि गर्दा कालाबजारी बढ्दै गएको गाईघाटका उपभोक्ताको गुनासो छ । उपभोक्ता श्याम दाहालले भने, “प्रत्येक वर्ष दसैँजस्तो महत्वपूर्ण चाडमा व्यापारीले मौका छोपेर दशदेखि पन्ध्र प्रतिशतसम्म मूल्य वृद्धि गर्दै आएका छन् । यस पटक ४० प्रतिशतभन्दा बढीका दरले मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेक्न थालेका छन् ।”

    सरोकार भएका निकायले यससम्बन्धी समयमा ध्यान दिएर अनुगमन गरी कालाबजारी रोक्नुपर्ने दाहालले बताए । दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धिसँगै सागसब्जी तथा फलफूल व्यापारीले पनि बुधबारदेखि करिब ४० प्रतिशतले मूल्य वृद्धि गरेका उनले जानकारी दिए । 

    प्रतिकिलो रु ८० पर्ने हरियो सागसब्जीको मूल्य अहिले रु एक ३० देखि रु एक ४० सम्म पर्न थालेको त्रियुगा नगरपालिका–१० बोक्सेका उपभोक्ता रामबाबु बस्नेतले बताए । व्यापारीले एक पछि अर्को वस्तुको मूल्य वृद्धि गर्न थालेपछि बजार क्षेत्रमा उपभोग्य वस्तु किन्न नसक्ने अवस्थामा पुगेको आमउपभोक्ताले गुनासो गरेका छन् ।

     

     

    मूल्य वृद्धिका बारेमा सोधिएको प्रश्नमा गाईघाटको पिजी चौकका व्यापारी विनोदले भने, “हामी साना खुद्रा व्यापारी हौँ, होलसेलरले मूल्य बढाएर सामान पठाएको छ । त्यसैले बढेको मूल्यअनुसार उपभोक्तालाई बिक्री गर्न बाध्य छौँ ।”

    उपभोग्य वस्तुको अभाव भएकाले होलसेलले मूल्य बढाएर वस्तु पठाएकाले आफूहरुले वृद्धि गर्न बाध्य भएका साना खुद्रा व्यापारी बताउँछन् । उपभोक्ता देवराज थापाले भने, “ठूला व्यापारीको मनपरी तन्त्र छ, जतिबेला चाह्यो उतिबेला मूल्य वृद्धि गर्छन्, स्थानीय सरकार तथा प्रशासनले अनुगमन गरेर कारबाही गर्नुपर्छ । कारबाही नगर्दा कालोबजारी गर्ने व्यापारीको मनोबल बढ्ने गरेको छ ।” 

    यस विषयमा तत्काल स्थानीय प्रशासन, स्थानीय पालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घले मूल्य अनुगमन गरेर नियन्त्रण तथा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । रासस  

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend