झापा। झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र गरी कुल ९० जनाले उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो। तर उक्त अवधिमा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएकाले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
भद्रपुर, मेचीनगर, अर्जुनधारा, कनकाई र दमकमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। ती कार्यालयहरूमा १५ महिलासहित ९० जनाको उम्मेदवारी परेको छ।
झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी २४ जनाले उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन्। सो क्षेत्रमा ९ जना स्वतन्त्र उम्मेदवार छन्।
त्यसैगरी झापा क्षेत्र नम्बर १ मा सबैभन्दा कम १५ जनाले उम्मेदवारी दिएका छन्। झापा २ मा १८, झापा ३ मा १७ र झापा ४ मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।
जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्, जुन २०७९ सालको निर्वाचनको तुलनामा ५० हजार २२६ ले बढी हो। झापामा रहेका २८५ मतदान स्थलमध्ये ४३ वटा सामान्य, १४७ वटा संवेदनशील र ९५ वटा अति संवेदनशील सूचीमा रहेका छन्।




.gif)





