काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्ना सदस्यको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराएको छ ।सेजनले प्रत्येक सदस्यलाई १ लाखको स्वास्थ्य बीमासहित कुल ७ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो ।स्वास्थ्य तथा दुर्घटना बीमाका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले सेजन अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरिन् ।सबै नेपालीलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमा महत्त्वबारे अझै नागरिकलाई पर्याप्त बुझाउन नसकिएको सीईओ श्रेष्ठले बताइन् ।
‘बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,’ उनले भनिन्, ‘आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षा प्राथमिकतामा राख्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी मार्फत करिब १५ करोड ९६ लाख बराबरको स्वास्थ्य बीमा गराएको अध्यक्ष भट्टराइले बताए ।स्वास्थ्य बीमा योजना अन्तर्गत सेजन सदस्यले अस्पताल भर्ना हुनेबित्तिकै बीमा सुविधा पाउनेछन् । बीमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्ने छ ।यसका साथै अस्पताल भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचार सम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराइले जानकारी दिए ।
सामूहिक दुर्घटना बीमा
सामूहिक दुर्घटना बीमा अन्तर्गत सेजन सदस्यले दुर्घटना एकमात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भए अधिकतम ७ लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन् ।दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरे उपचार खर्चका रूपमा पनि ७ लाखसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ ।हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी स्थापना कालदेखि नै सामान्य बीमा सेवामा विशेष ध्यान दिँदै आएको छ । कम्पनीले ग्राहक आवश्यकता मध्यनजर गरी व्यापक बीमा कभरेज प्रदान गर्दै आएको छ । हाल कम्पनीले देशका सातै प्रदेशमा रहेका ७७ शाखामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।




.gif)





