काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदमा रही कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गरेका थिए। सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
आफ्नो ३६ वर्षे बैंकिङ करिअरमा बस्यालले समग्र बैंक सञ्चालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेका छन्। विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको बैंकले जनाएको छ।
संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ गर्नुपर्छ भन्ने दृष्टिकोण राख्ने बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबुत हुने विश्वास लिएको छ।




.gif)





