काठमाडौं । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा धेरै भएको पैसा गत पुस १४ गते यता ऋणपत्र जारी गरेर तान्न थालेको हो। सोहि क्रममा आजपनि केन्द्रीय बैंकले १० अर्बको ऋणपत्र जारी गरेको हो ।बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले ऋणपत्रमार्फत मात्रै १ खर्ब २० अर्ब रुपैयाँ तानेको छ। पछिल्लो १० दिनमा मात्रै ५ वटा ऋणपत्र जारी भइसकेको छ । यसरी ऋणपत्र मार्फत खिचेको १ खर्ब २० अर्ब एक वर्षसम्म बैंकिङ प्रणालीमा फर्किदैन।एक वर्षे अवधिका ऋणपत्रबाट मात्रै राष्ट्र बैंकले २ खर्ब रकम तान्ने लक्ष्य लिएको छ । बैंकहरुले २.६४ प्रतिशतदेखि २.७२ प्रतिशत ब्याजदरमै अहिले राष्ट्र बैंकको ऋणपत्रमा लगानी गरिरहेका छन्।पछिल्लो १० दिनमा कुल १ खर्ब २० अर्बको ऋणपत्र जारी गरेकोमा ३ खर्ब ५ करोड रुपैयाँ बराबरको लागि आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले आज नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ नामक ऋणपत्र १ वर्ष अवधिको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नसक्नेछन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।राष्ट्र बैंकले वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलताको दीर्घकालीन व्यवस्थापनका लागि ‘राष्ट्र बैंक ऋणपत्र’ उपकरण प्रयोग ल्याएको हो । उक्त ऋणपत्र लामोअवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण हो ।
राष्ट्र बैंकले ४ देखि १७५ दिनसम्मको लागि रकम तान्ने निक्षेप संकलन उपकरणमा पनि बैंकहरुले औसत २.४७ देखि २.७४ प्रतिशतसम्म ब्याज पाइरहेका थिए। पुस १३ गतेयता भने राष्ट्र बैंकले यो उपकरण प्रयोगमा ल्याएको छैन। निक्षेप संकलन मार्फत तानेको ४ खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ परिपक्क हुन बाँकी नै रहेको छ । बैंकहरुले तीन-तीन दिनको लागि राष्ट्र बैंकले पैसा तान्ने स्थायी निक्षेप संकलनमा भने तीन प्रतिशत ब्याज पाउँछन्। पुस २२ गते बैंकहरुले यो उपकरणमा २ खर्ब ९९ करोड ५० लाख राखेका छन्। यो रकम विहीबार परिपक्क हुँदैछ । हाल राष्ट्र बैंकले विभिन्न उपकारणमार्फत बैंकिङ प्रणालीबाट ८ खर्ब ८१ अर्ब ५० करोड पैसा तानेको छ।
ऋणपत्रका विशेषता
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र धितोका रुपमा प्रयोग गर्न सकिनेछ। बैंकहरुमा तरलता अभाव भएमा यही ऋणपत्र राखी राष्ट्र बैंकबाट पुनः तरलता लिन सकिने व्यवस्था गरिएको छ। ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ।पछिल्लो समय बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि त्यसलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले नयाँ उपकरण प्रयोग गर्न थालेको हो। यसअघि खुला बजार कारोबार अन्तर्गत रिपो र रिभर्स रिपो प्रयोग हुँदै आएकोमा पछिल्लो समयमा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गर्दै आएको थियो ।राष्ट्र बैंकले निष्कासन गरेको यो ऋणपत्रले एकातर्फ बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्नेछ भने अर्कोतर्फ बैंकहरूलाई सुरक्षित र सरकारीस्तरको लगानी विकल्प उपलब्ध गराउनेछ । ब्याजदर बोलकबोलबाट तय हुने भएकाले बजारमै आधारित ब्याज संरचना विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।साथै, आवश्यक परेमा यही ऋणपत्र धितो राखेर पुनः राष्ट्र बैंकबाट तरलता लिन सकिने व्यवस्थाले बैंकहरूको तरलता व्यवस्थापन अझ लचिलो बनाउनेछ। दीर्घकालमा हेर्दा, यस्तो ऋणपत्र निष्कासनले मौद्रिक नीति कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र ब्याजदर स्थिरतामा सहयोग पु¥याउने संकेत गर्दछ।
बैंकिङ निक्षेप हालसम्मकै उच्च, लगानीयोग्य रकम कति ?
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ४१ अर्ब रहेको छ । यो हालसम्मकै उच्च हो । यसअवधिमा बैंकहरुले ५७ खर्ब १२ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्छन् । तर, त्यो अनुपात अहिले ७३।९३ प्रतिशतमा रहेको छ । यसलाई हेर्दा बैंकहरुसँग अझै ११ खर्ब ६५ अर्ब भन्दा माथि रकम लगानी गर्न सक्ने अवस्थामा छन् । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ। व्यवसायीहरुमा कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले गर्दा कर्जा विस्तार हुन नसकेको बताइएको छ । अहिले बैंकहरूमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ।




.gif)





