काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालबाट विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने बाटो खोलेको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गर्दै नेपालीहरूका लागि विदेशमा लगानी गर्ने बाटो सहज बनाइदिएको हो ।मंगलबार बैंकले जारी गरेको सूचनाअनुसार अब नेपालीलाई विदेशबाट पैसा भित्र्याउन पनि सहज हुने भएको छ । विनियमावलीको नयाँ थपिएको बुँदा (४क) मा अमेरिकी डलर २० हजारसम्मको लगानीका लागि यसअघिका कडा व्यवस्थाहरूले बाधा पुर्याएको नमानिने उल्लेख छ। यो व्यवस्थाले नेपाली व्यवसायीले विदेशमा गएर पनि लगानी गर्न पाउने भएका छन् ।
यस संशोधनले विदेशी लगानी भित्र्याउने प्रक्रियालाई पनि सरल बनाएको छ। अब विदेशी लगानी हुनुअघि गरिने सम्भाव्यता अध्ययन र पूर्व सञ्चालन खर्च (चुक्ता पुँजीको ३ प्रतिशतसम्म) का लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । साथै, सूचना प्रविधि सम्बन्धी उद्योगहरूले आफ्नो निर्यात आम्दानीको आधारमा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा पाउने विशेष व्यवस्था समेत गरिएको छ।नेपाल भित्रिएको विदेशी लगानीको रकम भित्रिएको ६ महिनाभित्र राष्ट्र बैंकमा लेखांकन गराउनका लागि निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको सात कार्य दिनभित्र राष्ट्र बैंकले लेखांकनको प्रमाणपत्र उपलब्ध गराउनेछ ।
विदेशी लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त रकम, नाफा, लाभांश र प्रविधि हस्तान्तरणबापतको रोयल्टी वाणिज्य बैंकहरूमार्फत विदेशी मुद्रामा फिर्ता लैजान सक्नेछ । यो व्यवस्थासँगै साना तथा मध्यम स्तरका लगानीकर्ताहरूलाई विदेशमा आफ्नो व्यवसाय वा लगानी विस्तार गर्न कानुनी बाटो खुलेको छ।




.gif)





