images

२०८३ आश्विन १५ गते

images
images
images

निर्माण कम्पनीद्वारा लापरबाही स्वीकार,गल्ती नदोहोर्याउने प्रतिबद्धता

निर्माण कम्पनीद्वारा लापरबाही स्वीकार,गल्ती नदोहोर्याउने प्रतिबद्धता

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • म्याग्दी, २२ पुस । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्तर्गत झिन डाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो ।

    images
    images

    स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोली सहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।

    “निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।”

    images
    images

    स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताउनुभयो ।

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

    निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो ।

    गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

    छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

    आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।

    यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ ।

    गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend