images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • कञ्चनपुरमा पाकेको धानमा वर्षा र हुरीले...

कञ्चनपुरमा पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

कञ्चनपुरमा पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । कञ्चनपुर- भीमदत्त नगरपालिका-११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छिन्। खेतको धानमा बाला झुलेका छन्। तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन्। पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन्।

    images
    images

    गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो। 'वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ', उनले भनिन्, 'धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ।'

    हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ। उनले वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन्। 'आम्दानीको स्रोत कृषि नै हो। धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ', लुहारले भनिन्, 'अब के खाने? के बेच्ने?'

    images
    images

    भीमदत्त नगरपालिका-११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्ने गर्छन्। गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने? भन्ने चिन्ताले पिरोल्न थालेको छ। 

    'हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो। न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै', उनले भने, 'किनेर खान पनि पैसा छैन।' बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ।

    अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ। 

    स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन्। जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ।

    'डुबान, कटान र पटानले बाली क्षति पुगेको छ। यकिन विवरण प्राप्त भएको छैन', उनले भने, 'निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ।' रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend